११ हजार विद्यार्थीका साथी विष्णु- पीएनमा एमाले अखिलको विरासत जोगाए, नेताको लहरमा उभिए – Nepal Press

११ हजार विद्यार्थीका साथी विष्णु- पीएनमा एमाले अखिलको विरासत जोगाए, नेताको लहरमा उभिए

पोखरा । पृथ्वीनारायण क्याम्पस देशको सबैभन्दा ठूलो कलेजमात्र नभएर नेता उत्पादन गर्ने नर्सरीका रूपमा समेत चिनिन्छ । विशेषगरी गण्डकीका धेरै प्रभावशाली नेता पीएन क्याम्पसबाटै राजनीतिमा उदाएका हुन् ।

विशेषगरी नेकपा एमालेका नेता उत्पादन गर्ने नर्सरी पीएन क्याम्पसको सभापति भएरै राष्ट्रिय राजनीतिमा स्थापित भएका सोमनाथ प्यासी, खगराज अधिकारी, रवीन्द्र अधिकारी, पदम गिरी, धनराज आचार्य, राजीव पहारी, झलक सुवेदी, सोभियत ढकाल, रश्मि आचार्यलगायतको पंक्तिमा थपिएका छन् नवोदित युवा विष्णु पोखरेल ।

२०६५ सालमा भएको स्ववियु निर्वाचनमा रश्मि आचार्य सभापति भएदेखि यहाँ चुनाव भएको थिएन । १६ वर्षयता ८ पटक स्ववियु निर्वाचन हुनुपर्ने हो, तर पटकपटक निर्वाचन रोकिँदा यस पटक पनि निर्वाचन नहुने डर विद्यार्थीलाई थियो । मतपत्रमा त्रुटि हुँदा पहिलो पटक तोकिएको चैत ५ गते पीएनमा निर्वाचन हुन सकेको थिएन ।

निर्वाचनमा पनि नेकपा एमाले निकट अनेरास्ववियु विरासत जोगाउने र अन्य संगठन अनेरास्ववियुको विरासत भत्काउने होडमा थिए । १६ वर्षपछि निर्वाचन हुन लागेकाले प्रायः सबै ठूला भनिएका विद्यार्थी संगठन आफ्नो शक्ति बलियो रहेको अनुमान लगाइरहेका थिए ।

अन्ततः अनेरास्ववियुले आफ्नो विरासतलाई कायम राखेको छ । प्रत्यक्षतर्फ अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ । २०२२ सालमा पीएनमा स्ववियु स्थापना भएयता सधैं अनेरास्ववियुले जित निकालेको छ ।

सभापतिमा अनेरास्ववियुका विष्णु पोखरेलले कांग्रेस निकट नेविसंघका सुशील न्यौपानेलाई ६०३ मतान्तरले हराउँदै निर्वाचित भए । पोखरेलले १,१०६ र न्यौपानेले ५०३ मत पाए । स्वतन्त्र उम्मेदवारी दिएकी विप्लवी न्यौपानले ४६९ मत पाइन् ।

सचिवमा अनेरास्ववियुका विराट दुवाडी र कोषाध्यक्षमा अनेरास्ववियुकै सन्दिका गुरुङ निर्वाचित भइन् । विराटले १,४१४ र सन्दिकाले १,३०५ मत प्राप्त गरिन् । सदस्य पनि सबै अनेरास्ववियुले जितेको छ । समानुपातिक मत पनि सबै संगठनको भन्दा दोब्बर ल्याएको छ ।

यस पटक सभापतिमा स्वतन्त्र उम्मेदवार पनि प्रभावशाली भएको र एमालेबाट विभाजित नेकपा एसको पनि राम्रै संगठन भएकाले विष्णुका लागि जित चुनौतीपूर्ण हुने मानिएको थियो, तर सहज जित निकालेर ११ हजार विद्यार्थी पढ्ने देशकै ठूलो कलेजको सभापति बन्दै अब नेता बन्ने लहरमा उभिएका छन् ।

पृथ्वीनारायण क्याम्पसलाई अनेरास्ववियु केन्द्रले पनि प्रतिष्ठाको विषय बनाएको थियो । पूर्वसभापति रहिसकेका पूर्वमन्त्री तथा एमाले नेता पदम गिरी, खगराज अधिकारीदेखि राजीव पहारीसम्मका नेताहरू चुनावी मैदानमा थिए । संगठनका महासचिव नरेश रोकाय, सचिव प्रकाश पौडेल र आशीर्वाद सुवेदीलगायतले मैदानमा कमान्ड सम्हालेका थिए ।

को हुन् सभापति बनेका विष्णु ?

 

विसं २०५४ सालमा कास्कीको घाचोकमा जन्मिएका विष्णु कक्षा ८ मा पढ्दादेखि विद्यार्थी राजनीतिमा जोडिएका थिए । २०७२ सालमा पीएनमा भर्ना भएदेखि उनले सक्रिय विद्यार्थी राजनीति सुरु गरेका हुन् ।

मानविकी संकायतर्फ राजनीतिशास्त्र र ग्रामीण विकास अध्ययनको प्रथम वर्षमा विष्णु कक्षा कमिटी उपाध्यक्ष बने । त्यसपछि उनी अनेरास्ववियुको राजनीतिमा निरन्तर सक्रिय छन् । विष्णु हाल पृथ्वीनारायण क्याम्पसमै इतिहास विषयमा स्नातकोत्तर गरिरहेका छन् ।

२०७३ सालको स्ववियु निर्वाचनमा सरिता पुरी नेतृत्वको अनेरास्ववियु प्यानलबाट विष्णु सदस्य पदका उम्मेदवार थिए, तर उक्त समयमा निर्वाचन हुन सकेन । यस पटक पनि चुनाव नभएको भए उनी स्ववियु सभापतिको उम्मेदवार बन्ने उमेर पार गर्ने थिए ।

२०७७ साल माघ ९ गतेबाट उनी अनेरास्ववियु क्याम्पस कमिटी संयोजक बने । २०७८ साल पुस १४ गते क्याम्पस कमिटी अध्यक्ष भए । २०७९ साल फागुनमा भएको अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय कमिटी सदस्य निर्वाचित भए ।

विद्यार्थीका मुद्दा स्थापित गर्न र विद्यार्थी राजनीतिमा विष्णु निरन्तर सक्रिय छन् । उनी अनेरास्ववियुमा लाग्दा भारतले नेपालमाथि नाकाबन्दी गरेको थियो । नाकाबन्दीविरुद्धको आन्दोलनदेखि कोभिड-१९ को समयमा विद्यार्थीले खोप लगाउनुपर्छ भन्ने मागमा पनि विष्णु सक्रिय थिए ।

शिक्षा संकायको कक्षा मर्ज गरेर दिउँसोको समयमा मात्र पढाउने भन्ने विषयको पनि उनी क्याम्पस कमिटीको नेतृत्वमा रहँदा अनेरास्ववियुले विरोध गरेको थियो । कलेजका ११ हजार विद्यार्थीका मुद्दामा सक्रिय विष्णु अन्ततः चैत १० गते भएको निर्वाचनबाट स्ववियु सभापति बन्न सफल भए ।

विष्णु अनेरास्ववियुले विगतमा गरेका कामहरूलाई मूल्यांकन गरेर भोट हाल्दा जित निकाल्न सफल भएको बताउँछन् ।

‘अनेरास्ववियुले विगतमा गरेका कामहरू, हाम्रो संगठनलाई माया गर्नुहुनेहरू नै हाम्रो जितको संवाहक हो र उहाँहरूले नै हामीलाई जिताउनुभएको हो’, उनले नेपालप्रेससँग भने ।

सबैलाई समेटेर विद्यार्थीको हितमा काम गर्ने विष्णुले प्रतिबद्धता जनाए । उनले भने, ‘सबै विद्यार्थीहरूको सल्लाह, सुझाव लिने र मेरा प्रतिस्पर्धीहरूलाई साथमा लिएर उहाँहरूको पनि घोषणापत्रमा के छ, ती कुराहरूलाई पनि हेरेर काम गर्नेछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर