रास्वपाले भन्यो- कुलमानको बर्खास्ति बदनियतपूर्ण, सरकारको औचित्य सकियो – Nepal Press

रास्वपाले भन्यो- कुलमानको बर्खास्ति बदनियतपूर्ण, सरकारको औचित्य सकियो

सरकारको निर्णयविरुद्धको शान्तिपूर्ण प्रदर्शनमा ऐक्यवद्धता छ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई बदनियतपूर्वक हटाएको भन्दै विरोध जनाएको छ । रास्वपाले यसका विरुद्ध हुने विभिन्न प्रदर्शनमा ऐक्यवद्धता रहने पनि स्पष्ट पारेको छ ।

‘भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुनेछ’, कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै दैनिक १८ घण्टासम्म लोडसेडिङको मार खेपिरहेका नेपाली जनतालाई अँध्यारोको सकसबाट मुक्त गर्न मुख्य भूमिको कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णयले पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

बक्यौता रकम उठाउन नदिने हेतुले सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरुको संरक्षणको श्रृंखला अन्तर्गत नै घिसिङमाथि कारवाही गरिएको रास्वपाको निष्कर्ष रहेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले यस निर्णयले आम युवा र सचेत नागरिक पूर्णतः निरुत्साहित भएको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर भएको रास्वपाले जनाएको छ ।

‘दह्रो र गहिरा सुधार होइन निहित स्वार्थसमूहको नियन्त्रणमा लगिंदै गरेको अर्थतन्त्र, बेरोजगारी र शैथिल्य; दलीयकरण र शासकीय अक्षमताका कारण थलिएको सार्वजनिक सेवा, शिक्षा र स्वास्थ्य क्षेत्रका बेथिति; एकातिर भ्रष्टाचार र दोहनको फैलँदो जालो र अर्कोतिर राज्यका सबै अंगहरुमा गरिएको कब्जाबाट सिर्जित दण्डहीनता; नयाँ दल, अभियान र अभियन्ताहरुमाथि राज्यका सबै अंगहरुको अस्त्रीकरण गर्दै साँधिएको राजनीतिक प्रतिशोध, निषेध एवं झुठा मुद्दाको अनैतिक प्रहार; गिर्दो अन्तर्राष्ट्रिय साख, निर्लज्ज एवं असफल कुटनीति र लगभग दुई-तिहाइ समर्थन प्राप्त सरकार भ्रष्ट, अकर्मण्य, निरीह, निष्प्रभावी, अनुत्तरदायी र प्रतिशोध केन्द्रित रहेको प्रमाणित भएसँगै वर्तमान सरकारको औचित्य समेत समाप्त भएको पुष्टि भएको छ’, विज्ञप्तिमा जनाइएको छ ।

 


प्रतिक्रिया

2 thoughts on “रास्वपाले भन्यो- कुलमानको बर्खास्ति बदनियतपूर्ण, सरकारको औचित्य सकियो

  1. माओवादीले त असुलेर खान पाएको थियो र करायो । यी चाहिँ किन कराएका नि ?

  2. कुलामानको बिषयमा यती छिट्टै निर्णय पार्टिले !राजतन्त्र कि गणतन्त्र भन्ने बिषयमा पनि निर्णय लिएको भए कती राम्रो हुन्थ्यो ? ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर