डा. लोहनीले राप्रपा बैठकमा सोधे- साथीहरु, म नवराजको मोर्चामा बसौं कि नबसौं ?


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज बसेको आन्दोलन मूल समितिको बैठक मूल रुपमा दुईवटा विषयमा केन्द्रित रह्यो । पहिलो पार्टीको आन्दोलनलाई कसरी अगाडि बढाउने र दोस्रो नवराज सुवेदी नेतृत्वको मोर्चालाई कसरी हेर्ने ?
राप्रपाका दुई पूर्वअध्यक्षसहित पाँच जना हाइप्रोफाइल नेता सुवेदी नेतृत्वको मोर्चामा आवद्ध छन् । महामन्त्री डा. धवलशमशेर राणालाई सो मोर्चाले आन्दोलन परिचालन समितिको संयोजक नै बनाएको छ । पूर्वअध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, कार्यसम्पादन सदस्य हरिबहादुर बस्नेत सुवेदी नेतृत्वको आन्दोलन निर्देशक समितिमा छन् । मिश्र सदस्य सचिव हुन् ।
राप्रपाका केन्द्रीय सदस्य, सांसददेखि जिल्ला अध्यक्ष र भ्रातृ संस्थाका अध्यक्षहरुसमेत रहेको आन्दोलन मूल समितिको बैठकमा यो विषयमा विभाजित धारणाहरु आएको स्रोतले बताएको छ । केही नेताले राणासहित नवराज सुवेदीको मोर्चामा रहेका नेताहरुको आलोचना गरे । केहीले यसलाई सहज रूपमा लिनुपर्नेमा जोड दिए ।
अन्तमा पार्टीले राजसंस्थाको समर्थनमा हुने कुनै पनि आन्दोलन र अभियानलाई सहयोग र समर्थन गर्ने उदार निर्णय लियो । यसले गर्दा सुवेदीको मोर्चामा गएका नेताहरुलाई सहज भएको छ ।
आजको बैठकमा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बोल्ने क्रममा सहभागीहरुलाई नै आफू मोर्चामा सहभागी हुनु ठीक हुन्छ कि हुँदैन भनेर सोधेका थिए ।
स्रोतले उनको भनाइ उद्धृत गर्दै भन्यो, ‘केही साथीहरुले मलाई आफ्नो पार्टीभन्दा पृथक अर्को मोर्चामा नबस्न सुझाव दिनुभएको छ । तपाईंहरु नै भन्नुस् म के गरौं ?’
यसमा बैठकका सहभागीहरुबाट फरक-फरक प्रतिक्रियाहरु आएको स्रोतको भनाइ छ । कसैले पार्टी पद्धतिभन्दा बाहिर जानु उचित नहुने बताए भने कसैले नवराज सुवेदी पनि अनुभवी र सम्मानित नेता भएकाले फरक नपर्ने सुझाव दिए ।
डा. लोहनीले हिजो बसेको राप्रपा पदाधिकारी बैठकमा पनि नेताहरुसँग यही प्रश्न सोधेका थिए । धेरै नेताहरुले उक्त मोर्चामा बस्दा फरक नपर्ने धारणा राखेको स्रोत बताउँछ । अध्यक्ष लिङदेन पनि मोर्चामा रहेका नेताहरुप्रति लचक देखिएका छन् ।
मोर्चामा रहेका अर्का पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले भने यो विषयमा पार्टी बैठकमा केही बोलेका छैनन् । उमेर र स्वास्थ्यका कारण उनी हिजो पदाधिकारी बैठक र आज आन्दोलन मूल समितिको बैठकमा केही समयमात्रै सहभागी भए । दुवै बैठकमा उनले सम्बोधन गरेनन् ।