बाँकेकाे नरैनापुरमा आगलागी, १७ घर जले


नेपालगन्ज । बाँकेको नरैनापुरमा आगलागी भएको छ । पालिकाको वडा नम्बर ४ मा आगलागी हुँदा १७ वटा घर जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
स्थानीय जुमै खाँको घरबाट सुरु भएको आगो गाउँमा फैलिएको प्रहरीले जनाएको छ । खाँको घरबाट लागेको आगो नेपालगन्ज उपमहानगरपालिका र कोहलपुृर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका थिए ।
खरले छाएका र एक आपसमा जोडिएका घरगोठ तथा तीव्र हावाहुरीका कारण आगो नियन्त्रणमा लिन मुश्किल परेको सशस्त्र प्रहरी उपरिक्षक चन्दले बताए ।
मंगलबार दिउँसो सुरु भएको आगलागी केहीबेर अगाडि नियन्त्रणमा आएको नरैनापुर(४ का वडाअध्यक्ष मनोजकुमार शर्माले जानकारी दिए । प्रहरीका अनुसार आगलागीबाट नष्ट भएका घरभित्र राखिएको अन्नपात, भाडा बर्तन, लुगा लत्ता जलेर नष्ट भएको छ ।
आगलागीबाट झन्डै ५० देखि ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।
आगलागी नियन्त्रणका लागि नेपालगन्ज र कोहलपुरबाट दमकल पठाइएको थियो । आगलागीको मुख्य मौसमका बेला नरैनापुर गाउँपालिकाको दमकल भने बिग्रिएर थन्केको छ ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागि पीडितलाई बुधबार वडाकार्यालय र गाउँपालिकाले राहत सामाग्री वितरण गर्ने वडा अध्यक्ष शर्माले जनाए ।