लोडसेडिङ हुँदैन भनेर एक हप्तामै काम गरेर देखाउँछु: शाक्य (भिडिओ)


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । मंगलबार पदभार ग्रहण गर्दै उनले लोडसेडिङ नहुने कुरा एक हप्ताभित्रमै रिजल्ट देखाउने दाबी गरेका हुन् ।
पदभार ग्रहण पश्चात् पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘२०७७ सालमा पनि लोडसेडिङ हुन्छ भनियो । त्यसबेला मैले डाटा लगेरै स्पष्ट पार्नु परेको थियो । र, आजका दिनमा पनि त्यो अवस्था कायमै छ । लोडसेडिङ हुन्छ भन्ने हल्ला मात्रै हो । मैले एक हप्ता भित्रमै लोडसेडिङ हुँदैन भनेर रिजल्ट देखाउँछु । उद्योगमा मात्रै लोडसेडिङ भइरहेको छ । यो पनि म कम गर्छु ।’
सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई बर्खास्त गरेर मंगलबार शाक्यलाई नियुक्ति गरिएको थियो । विवादमै नियुक्ति भए पनि उनले यसलाई चुनौती भन्दा पनि अवसरकारुपमा लिएका बताएका छन् । उनले त्यसबेला नियुक्ति पाउँदा गर्न नसकेका कामहरू अब पुरा गर्ने बताए । आफ्नो ३३ वर्षको अनुभवले राम्रो गर्ने दाबी गरे ।
‘यसअघि मेरो नियुक्ति भएको ६ महिनामै बाहिर पठाइएको थियो । लामो समयदेखि मैले न्यायको लागि अदालत धाइरहेको थिए । त्यहाँबाट लगभग न्याय पाइन भन्ने स्थितिमा पुगेको अवस्थामा सरकारले नियुक्ति दिएर न्याय दियो भन्ने लागेको छ’, उनले भने ।
विद्युतको क्षेत्रमा केही ठूला चुनौतीहरू रहेको उनले बताए । बाहिरबाट राम्रो देखिए पनि भित्र केही चुनौती रहेको पाएकोले यसलाई व्यक्तिले समाधान गर्ने भन्दा पनि टिम बनाएर काम गर्ने उनले बताए ।
सफल कार्यकालको अग्रिम शुभकामना ।