तिलोत्तमा गोल्डकपमा आजदेखि सेमिफाइनलका खेल


रुपन्देही । रुपन्देही जारी २३ औँ संस्करणको तिलोत्तमा गोल्ड कप प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेलहरू सञ्चालन हुँदैछन् । आज हुने पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र संकटा क्लबका बीच प्रतिस्पर्धा हुने छ ।
बुटवल–११ देविनगरस्थि एन्फा टेक्निकल सेन्टरमा दिउँसो ३ बजेदेखि खेल हुनेछ । मङ्गलवार भएको खेलमा मच्छिन्द्र एफसी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा प्रदेश खेलकुद परिषद् लुम्बिनीको मुख्य सहयोगमा सोमबार जारी प्रतियोगितामा मच्छिन्द्र एफसीले दोस्रो सेमिफाइनलमा चर्च ब्याईज युनाईटेडसँग बिहीबार खेल्ने छ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ, गोल्ड कप, प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैयाँ प्राप्त गर्नेछ ।
विधागततर्फ उत्कृष्ट खेलाडीहरूलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाँबाट पुरस्कृत गरिने छ ।
प्रतियोगितामा रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा दुई विदेशी टिमहरू एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरी आठ टिमको प्रतिस्पर्धा रहेको छ ।