माओवादीको आरोप- विद्युत प्राधिकरणलाई बिचौलियाको हातमा सुम्पिन कुलमानलाई हटाइयो (भिडिओ)


काठमाडौं । नेकपा माओवादी केन्द्रले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व ऊर्जामन्त्रीसमेत रहेका माओवादी सांसद शक्ति बस्नेतले घिसिङको बर्खास्ती बक्यौता उठाउन नदिने, जलमाफियाहरूको स्वार्थ पूरा गर्ने, विद्युत प्राधिकरणलाई बिचौलियाको हातमा सुम्पिने उद्देश्यमा आधारित रहेको बताए ।
उनले राम्रो काम गर्नेहरू पुरस्कृत हुन्छन् भन्ने सन्देश प्रवाह गर्नुपर्नेमा सरकार उल्टो बाटोमा हिँडिरहेको बताए ।
बस्नेतले भने, ‘कुलमान आएपछि लोडसेडिङको अन्त्य भएको तथ्यले देखाउँछ । अहिले ९९ प्रतिशत जनताले विद्युतको पहुँच पाएका छन् । पहिले वर्षायाम्मा समेत भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्था थियो । विगत तीन वर्षदेखि विद्युत निर्यात गरिरहेको छ । बंगलादेशलाई पनि निर्यात सुरू गरिएको छ ।’
उनले ऊर्जामन्त्रीले भारतले विद्युत दिएकै कारणले लोडसेडिङ हटेको भन्ने गलत तथ्य पेश गरेको भन्दै आपत्ति जनाए ।