बुधबार राष्ट्र बैंकले ३० अर्ब निक्षेप खिच्दै


काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि उक्त बराबरको निक्षेप तान्न लागेको हो ।
राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप तान्न लागेको हो । आजै मध्यान्ह ३ बजे बोलकबोलको मिति तय गरिएको छ । जसको ब्याजदर पनि बोलकबोलकै माध्यमबाट निर्धारण हुने भएको छ ।
घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने व्यवस्था गरिएको छ । आउँदो वैशाख ३ गते साँवा तथा ब्याज भुक्तानी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।