अमेरिका जान ठिक परेका कमल कोइराला अचानक ‘प्यारालाइज्ड’ भएर अस्पतालमा – Nepal Press

अमेरिका जान ठिक परेका कमल कोइराला अचानक ‘प्यारालाइज्ड’ भएर अस्पतालमा

काठमाडौं । लेखक तथा कूटनीतिज्ञ कमल कोइराला अचानक अस्वस्थ बनेका छन् । बानेश्वर स्थित आफ्नै निवासमा ढलेपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

कोइरालाको शरीर पूर्ण रूपमा प्यारालाइज्ड भएको उनलाई भेटेका वरिष्ठ पत्रकार किशोर श्रेष्ठले जानकारी दिए । उनले भने, ‘उहाँले टाउको चलाइरहनु भएको छ र बोलिरहनुभएको छ, तर शरीर पूर्णरुपमा निष्क्रिय छ ।’

हिजो पत्रकार श्रेष्ठको जन्मदिन मनाउन कोइराला जनआस्थाको कार्यालयमा पुगेका थिए । त्यहाँ सामूहिक फोटो खिचाएर कोइराला किताबको रोयल्टी लिन भनेर हतारिँदै निस्किएको श्रेष्ठले बताए ।

‘अफिसमा मेरो जन्मदिन भेटको फोटो खिचाएर किताबको रोयल्टी लिन हतार हतार निस्कनुभएका कमल बा कता गएर रमाउनुभएछ । राती अबेर घर पुगेर ढल्नुभयो । आज उठ्दा शरीर प्यारालाइज्ड । सिटीस्क्यान, एमआरआइ गर्दा टाउकोबाहेक केही चल्दैन,’ उनले भने ।

बानेश्वरबाट छोरी र ज्वाइँले केएमसी अस्पताल पुर्‍याएका थिए । अस्पतालको इमर्जेन्सीमा चेकजाँच पश्चात् अहिले उनलाई आइसीयूमा राखिएको छ ।

कमल कोइराला भूतपूर्व प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा र बिपी कोइराला भतिज हुन् । उनी नेपालका लागि कोरियाका राजदूत बनेका थिए । लामो समयदेखि उनी लेखन कार्यमा सक्रिय छन् ।

पत्रकार श्रेष्ठका अनुसार कोइराला पर्सी शुक्रवार अमेरिका जाने तयारीमा थिए । अमेरिकामा उनका छोरा छन् । कोइराला अस्पताल भर्ना भएपछि छोरा नै अमेरिकाबाट आउनुपर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *