पोखरामा केपी ओली कप क्रिकेट हुने, विजेतालाई १० लाख


पोखरा । पोखरामा केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा चैत २३ देखि ३० गतेसम्म पोखरा रंगशालामा उक्त क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
दोस्रो पटक हुन लागेको उक्त प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले समान २० हजार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
टिम दर्ताका लागि चैत १५ गतेसम्म समय तोकिएको छ । टिम दर्ता शुल्क ४० हजार निर्धारण गरिएको छ । यसअघि गत वर्ष भएको केपी ओली कपको उपाधि मधेश प्रदेशले जितेको थियो ।