काभ्रे जिसस प्रमुख तथा नेकपा एसका नेता दीपक गौतम बैंकिङ कसुरमा पक्राउ


काठमाडौं । काभ्रेका जिल्ला समन्वय समिति प्रमुख दीपक गौतम पक्राउ परेका छन् । उनलाई बैंकिङ कसुरको मुद्दामा प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।
नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका गौतम गत स्थानीय तह निर्वाचनमा तत्कालीन पाँच दलीय गठबन्धनबाट काभ्रेको जिसस प्रमुख बनेका थिए ।
विभिन्न व्यक्तिसँग आर्थिक लेनदेनका क्रममा उनले जारी गरेका चेक नसाटिएपछि उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो ।
उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरले नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, भद्रकाली चलान गरिएको त्यहाँका प्रवक्ता एसपी अपिलराज बोहोराले बताए ।
रकम भुक्तानी दिनुपर्ने व्यक्तिहरुलाई राष्ट्रिय बाणिज्य बैंक, नयाँ बानेश्वर शाखामा रहेको खाताको चेक काटेका कारण उनीविरुद्ध त्यहाँ मुद्दा दायर भएको हो ।
काठमाडौंमा उनले जारी गरेका तीन चेकमध्ये सबैसँग मिलापत्र भएको गौतमले प्रहरीसमक्ष दाबी गरेका छन् । तर, उक्त अभिलेख प्रहरीलाई बुझाउन सकेनन् ।
काभ्रेमा पनि तीन वटा चेक बाउन्स गरी उनीविरुद्ध मुद्दा दायर भएको काभ्रे जिल्ला प्रहरी स्रोतले जनाएको छ ।
उनले गरेको खराब आर्थिक कारोबारका कारण बैंकिङ अभिलेखमा उनी कालोसूचीमा परेका छन् ।
बैंकमा खाता खोल्न नमिलेपछि आइसीएफसी फाइनान्स, बनेपाको खाताबाट रकम कारोबार गर्दै आएका थिए ।
सोही खातामा जिल्ला समन्वय प्रमुखको हैसियतले पाउनुपर्ने तलब र सुविधा जम्मा हुने गरेको थियो । अहिले उक्त खाता पनि कालोसूचीमा परी खाता रोक्का रहेको प्रहरीले जनाएको छ ।