लुम्बिनी लगानीका लागि महत्वपूर्ण गन्तव्य, अन्तर्राष्ट्रिय विमानस्थलको औचित्य बढ्दै: अर्थमन्त्री पौडेल


रुपन्देही। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्वपूर्ण गन्तव्य भएको बताएका छन् । उनले लुम्बिनीमा लगानी गर्न उद्योगी–व्यवसायीहरुलाई आग्रह गरे ।
कान्तिपुर मिडिया ग्रुपले रुपन्देहीको भैरहवामा बुधबार आयोजना गरेको ‘लुम्बिनीको सामर्थ ’ विषयक विमर्श कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । ‘लुम्बिनीको सामथ्र्य धेरै फराकिलो छ, निजी क्षेत्रको लागि यो महत्वपूर्ण ठाउँ हो’उनले भने,‘यहाँका सम्भावनालाई व्यवसायसँग जोड्न म आग्रह गर्दछु । ’
लुम्बिनीले नेपालको सिंगो अर्थतन्त्रलाई उचाईमा पुर्याउन सक्ने उनले बताए । शहरी पूर्वाधार, शिक्षा, स्वास्थ्य, औद्योगिक क्षेत्रको हिसाबले लुम्बिनीले अग्रणी स्थान हासिल गर्न सक्छ’उनले भने–‘हामीले गरेका कोशिसमा साथ दिन अपिल गर्छौं ।’
उनले लुम्बिनी प्रतिफलका निम्ति अनुकुल ठाउँ रहेको दावी गरे । हरेक मानकमा लुम्बिनी अग्रसर भएको उनको भनाइ छ । ‘भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै यहाँ बुद्धको जीवनसँग जोडिएको महत्वपूर्ण सम्पदाहरु छन्, यहाँ राम्रा र स्तरीय होटलहरु छन्, बर्दिया राष्ट्रिय निकुञ्ज पनि लुम्बिनी प्रदेशमै छ । यहाँ लगानी गर्नेले घाटा व्यहोर्नुपर्दैन, नाफा राम्रो कमाइन्छ’अर्थमन्त्री पौडेलले भने–‘लुम्बिनीमा धेरै सम्भावना र स्रोत छन् । कोही लगानी गर्न छुट्नुभएको छ भने लगानी गर्नुस् ।’
प्रधानमन्त्री केपी ओली नेतृत्वको अहिलेको सरकारले निजी क्षेत्रको आत्मबल र आत्मविश्वास बढाउन कुनै असर नराखेको उनले दावी गरे । नेकपा (एमाले)का उपाध्यक्ष समेत रहेका पौडेलले सरकारले लगानी अनुकुल वातावरण बनाउँदै जाने बताए ।
‘लुम्बिनीको समग्र अनुहार बदल्छौं, लुम्बिनी गुरुयोजना पूरा गर्न बाँकी छ, उनले भने लुम्बिनी विकास कोषको नेतृत्वको क्षमताको सीमाका कारण जुन रुपमा काम अघि बढ्नुपर्ने हो । त्यो हुन सकेको छैन, ’उनले भने । आर्थिक९सामाजिक क्षेत्रका समस्या समाधानका लागि सरकार अघि बढेको उनको भनाइ छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने र निकट भविष्यमै विमानस्थल पूर्णरुपमा सञ्चालन गर्नका लागि महत्त्वपूर्ण निर्णयहरु भएको उनले बताएका हुन् ।
‘सुरुमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चाहिन्छ भन्नेमै विवाद थियो, बन्दै गर्दा पनि पूरा हुन सक्दैन कि भन्ने थियो, सम्पन्न पनि गर्यौं र अहिले पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ,’ उनले भने, ‘अहिले फेरि विमानस्थल पूर्णरुपमा सञ्चालन हुन सक्दैन, लगानी खेर गयो भनिएको छ । तर यो सत्य होइन । अब छिट्टै पूर्ण क्षमतामा सञ्चालन भएर देखाउँछौं ।’
विमानस्थलको अहिलेको टर्मिनल सानो छ, त्यसलाई आन्तरिक टर्मिनलका रुपमा परिणत गरेर अन्तर्राष्ट्रिय उडानका लागि अर्को टर्मिनल बनाउने छौं । त्यसो भएमा यो विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि नेपालकै सबैभन्दा ठूलो, पर्याप्त पूर्वाधारसहितको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हुने उनले दाबी गरे ।
‘अब विमानस्थल चल्छ कि चल्दैन भन्ने प्रश्न पुरानो भइसक्यो, नयाँ विमानस्थल सञ्चालनमा आउँदा जहिले पनि यो प्रश्न आउँदो रहेछ, यहाँ पनि त्यही भएको हो,’ उनले भने, ‘विमानस्थल बनाउनका लागि मात्र नभएर चलाउनका लागि बनाइएकाले छिट्टै ‘फूल फ्लेज’मा सञ्चालन हुन्छ । विमानस्थललाई कसरी पूर्ण क्षमतामा चलाउन सकिन्छ भनेरै केन्द्रमा सम्बन्धित सरोकारवालाहरु र निकायहरुबीच पटक पटक बैठक गरेका छौं । ती बैठकहरुमा महत्त्वपूर्ण निर्णयहरु भएका छन् । ’ तीमध्ये केही निर्णय कार्यान्वयनमा आइसके भने केही कार्यान्वयको चरणमा रहेको उनले बताए ।
‘यहाँबाट पूर्णरुपमा अन्तर्राष्ट्रिय उडानका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सहरुलाई विशेष छुट सुविधाको प्याकेज ल्याउँछौं । त्यसका लागि विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरुसँग छलफल भइरहेको छ,’ उनले थपे, ‘अहिले सातामा १५ उडान गर्ने अवस्थामा आएका छौं । अझै आलोचना हुँदै गरोस्, हामी छिट्टै पूर्ण क्षमतामा सञ्चालन भएर देखाउँछौं ।’