कुलमान घिसिङ भन्छन्- ३० वर्ष देशका लागि योगदान गर्दा दण्डित भएँँ, सरकारलाई धन्यवाद !


काठमाडौं । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदच्युत गरेपछि देशव्यापी आक्रोश उब्जेको छ । संसददेखि सडकसम्म उनको समर्थनमा आवाज उठिरहेका छन् ।
कुलमान स्वयम् भने शान्त देखिन्छन् । सरकारको निर्णयबारे उनको कुनै पनि कडा प्रतिक्रिया आएको छैन । ऊर्जा मन्त्रालयले १० वटा आरोपसहित पदबाट बर्खास्त गरेको पत्र उनले हिजो अबेर बुझे । सरकारको निर्णयमाथि कानूनी उपचार खोज्ने उनले निर्णय गरिसकेका छन् । आज वा भोलिमै उनले सर्वोच्च अदालतमा सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै रिट हाल्नेछन् ।
नेपाल प्रेससँग टेलिफोनमा संक्षिप्त कुराकानी गर्दै घिसिङले अदालतबाट न्याय पाउने आशा व्यक्त गरे ।
उनले भने, ‘सरकारको निर्णयविरुद्ध अदालत जाँदैछु, न्याय पाउनेमा पूर्ण आशावादी छु ।’
कुलमान घिसिङसँग गरिएको संक्षिप्त कुराकानीः
– तपाईंको कार्यकाल सकिनुभन्दा चार महिना अगाडि हटाउने निर्णय सरकारले किन लियो होला ?
यो त सरकारलाई नै थाहा हुने कुरा भयो, म केही भन्न चाहन्न ।
– तपाईंलाई हटाउनुमा ऊर्जामन्त्रीको धेरै हात छ जस्तो लाग्छ कि प्रधानमन्त्रीको ?
सरकारले गरेपछि कसको कति हात भनिरहन परेन । सिंगो सरकारकै हात भयो नि होइन !
– तपाईंको समर्थनमा सामाजिक सञ्जालदेखि सडकसम्म आवाज उठिरहेको छ । उनीहरुलाई के भन्न चाहनुहुन्छ ?
देशमा आशा जगाउने एउटा संस्था जोगाउन सुरुदेखि आम जनसमुदायले मलाई र हाम्रो टीमलाई सहयोग र हौसला दिइराख्नु भएको छ । अहिले पनि जुन हिसाबले हाम्रो लागि आवाज उठाइरहनु भएको छ, त्यसका लागि एकदमै आभारी छौं । सबैलाई धन्यवाद भन्न चाहन्छु ।
– अदालतले न्याय देला भन्ने कतिको आशा लिनुभएको छ ?
अदालतप्रति मेरो पूर्ण सम्मान र विश्वास छ ।
– फेरि कमब्याक गर्छु भनेर विश्वस्त हुनुहुन्छ ?
अदालतलाई विश्वास गरेर जाँदैछु । अदालतले जस्तो निर्णय गर्छ, त्यसलाई स्वीकार्ने कुरा त भइहाल्यो ।
– यति लामो समय विद्युत प्राधिकरण रहेर देशका लागि योगदान दिनुभयो, अहिले आएर अप्रिय रुपमा बहिर्गमन हुनुपर्दा कतिको दुःख लागेको छ ?
मैले आफ्नो जीवनको उर्बर ३० वर्ष विद्युत प्राधिकरणमार्फत देश र जनताका निम्ति खर्चिएँ । विभिन्न जिम्मेवारीमा रहेर आफ्नो बलबुताले भ्याएसम्म देश हितका लागि योगदान गरेँ । यो योगदानलाई राज्यले पुरस्कृत गर्नुपर्नेमा दण्डित गर्ने अवस्था भयो । यसमा के भनौं । सरकारलाई धन्यवाद छ ।
– तपाईं अब राजनीतिमा होमिँदै हुनुहुन्छ भन्ने पनि चर्चा सुरु भएको छ । त्यस्तो केही सोच बनाउनुभएको छ कि छैन ?
सबै नागरिकलाई (राजनीति गर्ने) स्वतन्त्रता छ । बाहिर निस्केपछि विचार गरौंला ।
– अदालत कहिले जानुहुन्छ ?
म कानून व्यवसायीसँग छलफलमा छु । मुद्दाको तयारी हुँदैछ । भ्याए आज नभए भोलि अदालत जान्छौं ।
यस्ता पनि प्रश्न गरेको भए हुने ! तपाई आफू कसरी नियुक्त हुनुभएको हो ? शाक्य तपाईभन्दा सिनियर कर्मचारी हो ? एउटा कर्मचारीले ततकालीन सरकारमा रहेका व्यक्ति केही होइनन ? मन्त्रीले भनेको किन मान्ने भन्न सुहाउछ ? जसरी आउनुभयो त्यसरी जानुभयो । यसमा केको आपत्ति ?