‘होली वाइन’ खुवाउने चर्च बन्द गर्न जापानी अदालतको आदेश, के छ नेपालसँग सम्बन्ध ? – Nepal Press

‘होली वाइन’ खुवाउने चर्च बन्द गर्न जापानी अदालतको आदेश, के छ नेपालसँग सम्बन्ध ?

काठमाडौं । नेपालमा ‘होली वाइन’ खुवाउने भनेर चर्चा र विवादमा आएको युनिफिकेसन चर्चका सबै कारोबार बन्द गर्न जापानी अदालतले आदेश दिएको छ । जापानको टोकियो अदालतले मंगलबार यस्तो आदेश दिएको जापानको अंग्रेजी भाषाको मिडिया जापान टाइम्सले उल्लेख गरेको छ ।

जापान टाइम्सका अनुसार युनिफिकेसन चर्चले चन्दा असुल्न हदैसम्मका गतिविधिहरु गरेको भन्दै यस्तो आदेश आएको बताइएको छ । अदालतको आदेशले चर्चलाई दिइँदै आएको कर छुट खारेजमात्रै गरेको छैन, चर्चाका सम्पत्तिहरु बेचबिखन गर्न आदेश दिएको छ ।

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको सन् २०२२ जुलाईमा भएको हत्यामा यो चर्चका गतिविधिहरु जोडिएकाले त्यस मुद्दामा डेढ वर्षको बन्द कोठाको सुनुवाइपछि यस्तो फैसला आएको जापान टाइम्सले उल्लेख गरेको छ ।

सन् २०२३ को अक्टोबरमा जापानको शिक्षा मन्त्रालयले अदालतमा मुद्दा दायर गरेर चर्चको इजाजत बन्द गर्न माग गरेको थियो । त्यसैअनुसार अहिले फैसला आएको छ । चर्चबारेमा नागरिक तहबाट पनि ३२ मुद्दा परेको बताइएको छ ।

जापान टाइम्सका अनुसार जापानका मुख्य सचिव योसिमासा हायासीले फैसलाको स्वागत गरेका छन् । उनले भनेका छन्, ‘पीडितलाई सहयोग गर्न जे जे गर्नुपर्ने हो, त्यो त्यो गर्न हामी तयार छौं ।’

युनिफिकेसन चर्च र नेपालसँगको सम्बन्ध !

युनिफिकेसन चर्च दक्षिण कोरियामा मुख्यालय भएर प्रादुर्भाव गरिएको एक चर्च हो । यसले धर्म परिवर्तन वा धार्मिक गतिविधिहरु विश्वभर गर्दै आएको छ । सन म्युङ मुनले सन् १९५४ मा यसको स्थापना गरेका थिए । विभिन्न मिडियाहरुमा लगानी, व्यापारिक कारोबारमा संलग्नता र विभिन्न देशहरुमा गतिविधिहरुले यो चर्च बलियो छ ।

नेपालमा यसलाई युनिफिकेसन चर्चभन्दा पनि युनिभर्सल पीस फेडरेसनको नाममा चर्चा गरिन्छ । यसले नेपालमा होली वाइन खुवाउने, विभिन्न अवार्डहरु खासगरी शान्तिदूतको नाममा दिने गरेको छ । नेपालका धेरै नेताहरुलाई विभिन्न देशहरुमा लगेर अवार्ड दिने वा नेपालकै प्रभावशालीहरुलाई नेपालमै पनि अवार्ड दिएर यसले प्रभाव बढाउने गरेको छ ।

माधव नेपाललाई होली वाइन खुवाउन उत्तर कोरिया पुर्‍याउनेदेखि केपी शर्मा ओलीलाई होली वाइनमा जोड्ने यही युनिफिकेसन चर्च हो । यसले गिरिजाप्रसाद कोइराला र सुजाता कोइरालालाई पनि आफ्नो अभियानमा जोडेको थियो ।

नेपालमा चलेका वैवाहिक प्रतिबद्धता समारोहको आयोजक यही चर्च हो ।

एकनाथ ढकाल नेपालका हर्ताकर्ता हुन् । कोशी प्रदेशमा बिक्रमश्री भनेर परिचित नारायणप्रसाद तिम्सिना यो अभियानमा जोडिएका चिनिएका केही नाम हुन् । उनीहरुले मुनलाई शान्ति दूत भन्दै चर्चा गर्छन् ।

याे पनि पढ्नुस्: सिन्जो आबे हत्या प्रकरण : विवादस्पद धार्मिक अभियानले निम्त्याएको परिणाम


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर