प्रचण्डलाई प्रश्न- विपक्षी दलको बैठकमा राप्रपालाई किन नबोलाएको ?


काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलहरुको बैठक राखे ।
बैठकमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल लगायतका नेताहरु सहभागी भए ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक बसेको बैठकमा आज सदनको पाँचौ ठूलो दल राप्रपा देखिएन । यसअघि विपक्षी दलको बैठकमा प्रचण्डले राप्रपालाई पनि मिसाउँदै आएका थिए ।
यद्यपि, आजको बैठकलाई संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक भनियो । यही विषयमा संसद भवनबाहिर सञ्चारकर्मीहरुले विपक्षी दलको बैठकमा राप्रपालाई किन नबोलाएको ? भन्दै प्रश्न सोधे ।
उनले भने, ‘उहाँहरुको एजेण्डा र हाम्रो एजेण्डा फरक भएकाले हो । तर, अहिले उहाँ पनि विरोधमा हुनुहुन्छ । हामी अहिले मिलेकै छौं । कुरा गरेकै छौं ।’
कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने निर्णयको विरोधमा सदनमा राप्रपाले आजको बैठकमा नबोलाइएको भएपनि उठेर साथ दिएको थियो ।