बझाङको खप्तडछान्नाका पूर्व गाउँपालिका अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकायासहित ७ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष रोकायासहित निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपककुमार रावल, वडा ४ का वडाअध्यक्ष भीमबहादुर रोकाया, तत्कालीन इन्जिनियर सुरेन्द्रबहादुर खाती, तत्कालीन प्राविधिक असिष्टेण्ट इन्जिनियर जनक थापामगर, तत्कालीन लेखापाल मदनराज जोशी र उपभोक्ता समितिको तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो ।
आर्थिक वर्ष २०७६-७७ मा गाउँपालिकाबाट वडा नम्बर ४ स्थित सिम्लका घट्ट सिँचाइ कुलो निर्माणका लागि १४ लाख ८ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा कामै नगरी २०७७-७८ भुक्तानी लिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गर्दा काम नै नभएको र घट्ट सिँचाइ योजना नरहेको पाइएपछि मुद्दा चलाइएको आयोगका सहसचिव एवम प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार आयोगले उनीहरुविरुद्ध जनही १४ लाख ८ हजार रुपैयाँ बिगो माग दाबी गरेको छ ।