प्रचण्डको बैठकमा रास्वपा गएपछि ओलीको प्रश्न- मान्छे मारेर थकित तत्त्वहरूको पसिना पुछ्न किन जानुपर्यो ?
प्रचण्डलाई जवाफ- केके न थाहा पाएजस्तो सत्य नहोस् रे, तपाईंले चिसै पानीले नुहाउनुहुन्छ


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सही बाटोमा हिँड्न सुझाव दिएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै नयाँ शक्ति भनेर हतियार उठाएर मान्छे मारेर थकित तत्त्वहरूका पसिना पुछ्न हिँडेको तर्क गरे ।
रास्वपा आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको विपक्षी दलको बैठकमा सहभागी भएको थियो । विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको विरोधमा रास्वपा पनि उत्रिएपछि ओलीले नयाँ भन्नेहरू सिक्ने क्रममै रहेको बताए ।
उनले थपे, ‘नयाँ पार्टीहरू सिक्दैछन्, गलत नगर्न सही बाटोमा हिँड्न सुझाव छ। ती हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर अनेक मच्चाएर, उपद्रो मच्चाएर कति मान्छे मारेर, मराएर थकित तत्त्वहरूका पसिना पुछ्न किन जानुपर्यो ? आफूलाई नयाँ शक्ति भन्छ।’
उनले प्रचण्डलाई लक्षित गर्दै नेकपाकालको दुई तिहाइ भएको पार्टी फुटाउने, प्रगतिशील सरकार ढाल्ने तत्त्वहरूको रूपमा चित्रण गरे ।
प्रचण्डले कुलमानलाई हटाउने निर्णय सत्य नहोस् भन्ने लेखेको स्ट्याटसप्रति कटाक्ष गर्दै भने, ‘मैले यस्तो कुरा सुनेँ, थाहा पाएँ, यो कुरा गलत होस्, केके न थाहा पाएजस्तो, मैले सुनेको असत्य होस्। कुनै महान् ठूलो कुराजस्तो, होइन रहेछ भने नत्र, भन्दिन चाहन्छु चिसै पानीले नुहाउनुहुन्छ । हाम्राविरुद्ध मोर्चाबन्दी छ दुई तिहाइ भएको पार्टी फुटाउने, प्रगतिशील सरकार ढाल्ने, यिनै तत्त्वहरू हुन् ।’