नबिलमा मनोजको लोभलाग्दो प्रगति ‘ग्राफ’- इन्ट्रीको ४ वर्षमै कामु सीईओको जिम्मेवारी


नेपाली बैंकिङ क्षेत्रमा परिचित नाम हो- मनोज ज्ञवाली । जसको बैंकिङ यात्रामा प्रगतिको ‘ग्राफ’ लोभलाग्दो छ । नबिल बैंकको करिअरमा त उनले छलाङ नै मारेका छन् । २०७७ सालमा नबिल बैंक प्रवेश गरेका ज्ञवाली चार वर्षमै नायब महाप्रबन्धक हुँदै कायमुकायम प्रमुख कार्यकारी अधिकृत बन्न सफल भएका छन् ।
साढे दुई दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय रहेका ज्ञवालीले बुधबारदेखि नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी पाएका छन् । दुई महिना अगाडी मात्रै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका ज्ञवालीलाई बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले कामु सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो । बैंकको नायक प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई कामु सीईओको जिम्मेवारीमा तोक्ने निर्णय भएको कम्पनी सचिव विश्वप्रकाश पौडेलले जानकारी दिए ।
राष्ट्र बैंक हुँदै बैंकिङ करिअर शुरु गरेका ज्ञवाली ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंकपछि नबिल बैंकमा जोडिएका हुन् । ज्ञवाली नबिल बैंकका प्रवेश गर्नु अगाडी ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । उनले ज्योति विकास बैंकमा उक्त पदमा आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए ।
आफूलाई सफल बैंकरकारुपमा स्थापित गराइरहेका ज्ञवाली भन्छन्, ‘यसअघि मैले जतिपनि ठाउँमा काम गरेको छु त्यहाँबाट केही न केही सिकेको छु । मैले सिकेको सिकाइलाई व्यवहारमा लागू गरेको छु । म यहाँ आइपुग्नुमा मभन्दा सिनियरहरुको ठूलो हात छ ।’
उमेरले ४७ वर्ष पुगेका ज्ञवाली अनुभवी बैंकरकारुपमा पनि चिन्छिन् । २०३४ साल वैशाखमा दैलेखमा जन्मिएका ज्ञवाली हाल काठमाडौं बस्छन् । दुर्गममा जन्मिएर काठमाडौंमा एउटा पहिचान बनाइरहेका छन् । दुर्गमबाट आएपनि धेरै दुख भने नपाएको उनको अनुभव छ ।
‘म काठमाडौं आउँदा कर्णालीको दुर्गम ठाउँबाट आएको भन्ने फिल नै भएन । मलाई जोसँग जहाँ पनि प्रतिस्पर्धा गर्न सक्छु भन्ने भयो । सोही अनुसार नै मेरो कन्फिडेन्सको लेभललाई उच्च राखे । मैले लक्ष्य लिएर हिँडेको कुरालाई सधैँ प्राप्त गरेको छु । कहिले पछाडि फर्किनु परेको छैन’, ज्ञवाली भन्छन् ।
२०४९ सालमा दैलेखबाट उनले सेकेन्ड डिभिजनमा एसएलसी पास गरे । एसएलसीपछि भने पठाइका लागि उनी काठमाडौं आए । र, त्रिचन्द्र कलेजमा विज्ञान विषय लिएर पढ्न थाले । तर, उनलाई एक नातेदारले चार्टर्ड एकाउन्टेट पढ्न सुझाए । त्यसपछि उनी भारतमा गएर सिए पढे । सिएको पढाइ सकाएर मनोज फेरि काठमाडौं नै आए ।
काठमाडौं आएपछि उनले राष्ट्र बैंकमा जागिरेदेखि विभिन्न कलेजहरूमा पढाए पनि । काठमाडौं आएपछि उनका एक आफन्तले राष्ट्र बैंकमा ८ जना सिए मागेको छ भनेर फारम भर्न लगाएका थिए । उनले अन्तर्वार्ता दिए र एक नम्बरमै नाम निकाले ।
सन् २००३ मा असिस्टेन्ट डाइरेक्टरमा नियुक्ति भए । चार वर्ष काम गरेपछि उनी राष्ट्र बैंककाे जागिर छोडेर निजी बैंकतिर लागे । र, उनी जोडिए ग्लोबल आइएमई बैंकमा ।
राष्ट्र बैंकभन्दा दोब्बर तलब लिएर उनी ग्लोबल आईएमई बैंकमा फाइनान्स चिफ भए । सात वर्ष काम गरेपछि उनी ग्लोबल आइएमई बैंकबाट पनि बाहिरिए । त्यसपछि रिजर्भ वायर हाइड्रो पावर कम्पनीमा करिब एक वर्ष काम गरेर त्यहाँ पनि छोडे ।
हाइड्रोपावर कम्पनीबाट बाहिरिएका उनी फेरि बैंकतिरै फर्किए । ज्ञवाली ज्योति विकास बैंकमा डेपुटी सीईओ बने । दुई वर्ष काम गरिसकेपछि उनी सीईओ बने । सीईओको कार्यकाल सकिन दुई वर्ष बाँकी रहँदै उनले पदबाट राजीनामा दिए । त्यसपछि उनी नबिल बैंकमा जोडिए ।
नायब महाप्रबन्धकबाट नबिल बैंकमा आफ्नो करिअर शुरु गरेका ज्ञवालीले चार वर्षमै छलाङ मारेका छन् । उनी नायब महाप्रबन्धक हुँदै, महाप्रबन्धक, डेपुटी सीईओ, सिनियर डेपुटी सीईओ हुँदै कामु सीईओ बनेका छन् । नबिलको अबको सीईओ पनि ज्ञवाली नै बन्ने सम्भावना उच्च रहेको स्रोतको दाबी छ ।