आगलागीबाट सेन्ट्रल प्लाजाको ३ वटा तलामा क्षति, उद्धारमा खटिएका सुरक्षाकर्मीसहित ७ जना घाइते


विराटनगर । सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा भएको आगलागीको क्रममा ५ जना सुरक्षाकर्मीसहित ७ जना घाइते भएका छन् ।
सेन्ट्रल प्लाजामा फसेका सर्वसाधारणको उद्धार गर्ने र आगो निभाउने क्रममा ५ जना सुरक्षाकर्मीसहित दुईजना सर्वसाधारण घाइते भएको सुनसरी प्रहरीले जनाएको छ ।
घाइते सबैको उपचार भइरहेको छ । प्लाजामा होटल, बैंक पसलहरू सञ्चालनमा थियो । बिहान पौने १० देखि सुरू भएको आगो अहिले नियन्त्रणमा आएको छ । आगो नियन्त्रणको लागि १२ वटा दमकल परिचालन गरिएको थियो । सुनसरीका सीडीओ धर्मेन्द्रकुमार मिश्रले क्रेनको सहायताले पानी र आयल निगमबाट फोम तथा फायरबलले आगो निभाइएको बताए ।
होटलमा फसेकाहरूको उद्धारको लागि कोशी सरकारले काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर मगाएको थियो ।
पाँचौ तलाबाट सुरू भएको आगो छैटौं र सातौं तलामा पनि सल्किएको थियो । क्षतिको पूरा विवरण भने संकलन भइसकेको छैन । छैटौं तलामा रहेको बरण्डा रेष्टुराँ, किचन र पाँचौं तलामा रहेको कार्यालय कक्ष पूर्ण जलेको छ ।
आगलागीको कारण भने अझै खुलेको छैन । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी ३२२ जनाको टोली आगो निभाउन खटिएको थियो ।