युथ फेस्टिभलको अघिल्लो दिन संयोजक नै प्रहरी हिरासतमा, प्रधानमन्त्रीद्वारा कार्यक्रम रद्द – Nepal Press
जिसस काभ्रे प्रमुख गौतम पक्राउ प्रकरण

युथ फेस्टिभलको अघिल्लो दिन संयोजक नै प्रहरी हिरासतमा, प्रधानमन्त्रीद्वारा कार्यक्रम रद्द

काठमाडौं । अनुमानित २० करोड रुपैयाँको खर्च, ७५ देशका १ हजार युवासहित १० हजार स्वदेशी युवाको उपस्थितिबीच भोलि चैत १४ गते धुलिखेलमा युथ फेस्टिभल उद्घाटन गर्ने कार्यक्रम थियो, तर कार्यक्रममा मुख्य आयोजक जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम काठमाडौंमा प्रहरी नियन्त्रणमा छन् ।

गत वर्ष बनेपामा आयोजित बृहत् कृषि महोत्सवको खर्च व्यवस्थापन नमिल्दा गौतम बैंकिङ कसुर मुद्दामा प्रहरी नियन्त्रणमा पुगेका हुन् । उक्त महोत्सवको मञ्च बनाउने राजकुमार पटेलले पाउनुपर्ने ७ लाख रुपैयाँ गौतमले आफ्नै व्यक्तिगत चेक काटेर भुक्तानी गरे । उनीसहित अन्य २ पीडित छन् । गौतमले चेक त दिए, तर खातामा पैसा नहुँदा चेक साटिएन ।

सोही महोत्सवमा मञ्च सजावटको ११ लाख तिर्नुपर्ने चेक नसाटिएपछि पीडितहरु कानूनी उपचारमा लागे । उनकै अग्रसरतामा भोलिदेखि शुरू हुने युथ फेस्टिभलका निम्ति देश विदेशबाट पाहुना आउँदै थिए , तर उनी नै अहिले प्रहरी हिरासतमा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा फेस्टिभल उद्घाटन गर्ने कार्यक्रम थियो । प्रधानमन्त्रीको सचिवालयका किरण पौडेलले बताएअनुसार उनी भोलि नजाने भएका छन् । मुख्य आयोजक नै विवादमा मुछिएका कारण प्रधानमन्त्रीले कार्यक्रम रद्द गरेका हुन् ।

गौतमले तिर्नुपर्ने रकम तिरिसकेका छन् । त्यससम्बन्धी निस्सा पेश नगरेपछि अहिलेसम्म उनी प्रहरी वृत्त नयाँ बानेश्वरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।

गत वर्ष फागुन ४ देखि ७ गतेसम्म बनेपामा बृहत् कृषि महोत्सव गरिएको थियो । जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको मञ्च व्यवस्थापनतर्फको भुक्तानीको जिम्मा समन्वय प्रमुख गौतमले लिएका थिए । दिनुपर्नेलाई उनले समयमा रकम भुक्तानी त गरेनन् नै, चेकबाट गरेको भुक्तानी पनि चेक बाउन्स भएपछि पीडितले कानूनी उपचार खोज्दा उनी प्रहरी नियन्त्रणमा रहेका हुन् ।

युथ फेस्टिभलमा नेपालको संस्कृति तथा जलवायु परिवर्तनलगायतका ५० भन्दा धेरै विषयमा २०० भन्दा बढी वक्ताले धारणा राख्ने कार्यक्रम थियो । भोलिको उद्घाटनमा १ लाखभन्दा बढी युवा सहभागी गराउने गौतमको तयारी थियो । कार्यक्रमको प्रमुख आकर्षणका रुपमा कोलाम्बियाकी मिस ग्लोब २०२४ डायना मोरेनोको रहने कार्यक्रम थियो । उनी विश्व युवा सम्मेलनको प्रचारप्रसारमा सक्रिय छिन् ।

उनलाई रिहा गराउने प्रयासका लागि गायक बद्री पंगेनीसहितका शुभचिन्तक अहिले नयाँ बानेश्वर प्रहरी वृत्तमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *