काठमाडौं टावर भत्काइदिने महानगरको तयारी ! बालेनले निर्णय लिइसकेको सचिवालयको दाबी – Nepal Press

काठमाडौं टावर भत्काइदिने महानगरको तयारी ! बालेनले निर्णय लिइसकेको सचिवालयको दाबी

तर महानगरकै प्रवक्ता भन्छन्- अहिलेसम्म बनेको संरचना नियमसंगत नै हो, भत्काउन मिल्दैन

काठमाडौं । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको विषय थप पेचिलो बन्दै गइरहेको छ । सरकारसँग टकराव बढिरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले उक्त टावर नै भत्काइदिने योजना बनाएका छन् ।

मेयर शाहले भ्यूटावरमा भ्रष्टाचार भएको आरोप लगाउँदै भत्काउने तयारी गरेका हुन् । यसमा सरकारको पनि मिलेमतो रहेको आशंका उनले गरेका छन् ।

मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव साहले भ्यूटावर भत्काउन लागिएको बताए । यसलाई नभत्काएसम्म भित्री कुरा बाहिर नआउने भएकाले यो निर्णय लिइएको उनको भनाइ छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले अनियमित तवरबाट काठमाडौं टावरको नक्सापास गरिदिएको आरोप मेयर शाहले लगाएका थिए ।

सोही आरोपमा छानबिन गर्ने भन्दै उनले गुरागाईंलाई कार्यालय आउन दिएका छैनन्, तर आफैंले गठन गरेको छानबिन समितिले गुरागाईं निर्दोष रहेको निचोड निकालेपछि बालेनले प्रतिवेदन नै बुझ्न मानेनन् । त्यसपछि महानगरकै तीन विभागीय प्रमुखहरुलाई प्रतिवेदन लेख्न लगाएका थिए । उक्त प्रतिवेदनले पनि प्रशासकीय अधिकृतलाई भ्रष्टाचार आरोप लगाएको छैन । न काठमाडौं टावर भत्काउने सुझाव नै दिएको छ ।

स्वकीय सचिव साहले भने काठमाडौं टावरको विषयमा छानबिन गर्न बनाइएको समितिबाट आएको रायअनुसार नै अघि बढ्न खोजेको दाबी गरे ।

उनले भने, ‘सम्बन्धित जुन जुन विभागले राय पेश गरेको छ, त्यहीअनुसार नै काठमाडौं महानगरपालिका अघि बढ्न खोजेको हो । सरकार आफैं भ्रष्टाचार, लेनदेन र जनताको पैसामा खेलवाड गरिरहेको छ ।’

मेयर शाहलाई बुझाएको रायमा काठमाडौं टावर भत्काउनुपर्ने कुरा उल्लेख नभएको विषयमा प्रश्न गर्दा उनले स्पष्ट जवाफ दिएनन् । बरु उनले भ्रष्टाचारको पोल खोल्न नै टावर भत्काउनुपर्ने तर्क गरे ।

उनी भन्छन्, ‘नेपाल सरकारले आफूले गर्नुपर्ने दायित्व पूरा नगरेको अवस्थामा महानगरपालिकाले भ्यू टावर भत्काइसकेपछि मात्रै यसमा कस-कसको सलंग्नता छ भन्ने पोल खुल्छ । त्यसको लागि महानगरपालिका अगाडि बढ्ने छलफल भएको छ । हामी भत्काउने तरखरमा छौं ।’

पीपीए मोडलको संरचना निर्माणको अध्ययन गर्न समिति बनेको र उक्त समितिले दिएको सुझावअनुसार अगाडि बढ्ने साहले बताए । समितिले टावरको बारेमा अध्ययन गरिरहेको र छिट्टै प्रतिवेदन आउने उनको भनाइ छ ।

उनी भन्छन्, ‘यसको पहिल्यैदेखि एउटा अध्ययन प्रक्रिया चलिरहेको छ । प्रकिया टुंगिनेबित्तिकै हामी अगाडि बढ्छौं । जहाँ-जहाँ छलफल हुनुपर्ने हो, त्यहाँ-त्यहाँ छलफल हुन्छ ।’

महानगरकै प्रवक्ता अनभिज्ञ

महानगरका प्रवक्ता नवीन मानन्धर भने मेयरको योजनाप्रति बेखबर देखिएका छन् । उनले भ्यू टावर भत्काउने विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।

उनले भने, ‘मलाई थाहा भएसम्म यस विषयमा कुनै छलफल भएको छैन । मेयरकै सचिवालयभित्र मात्र छलफल भएको भए अर्कै कुरा ! नत्र कुनै पनि छलफल भएको छैन ।’

भ्यू टावर अहिलेसम्म नियमानुसार नै बनेको मानन्धरले उल्लेख गरे ।

उनले भने, ‘अहिलेसम्मको संरचना भनेको त नियमसंगत ढंगबाट बनिरहेको हो नि ! बाँकी बनाउन दिइएको नक्सापासको मात्रै विवाद हो । बनिसकेको संरचना यत्तिकै भत्काउन मिल्दैन होला ! अरु हामीलाई थाहा भएन ।’


प्रतिक्रिया

5 thoughts on “काठमाडौं टावर भत्काइदिने महानगरको तयारी ! बालेनले निर्णय लिइसकेको सचिवालयको दाबी

  1. अरबौं खर्च गरेर बनाएको भ्युटावर भत्काउन मेयर बालेनको बाउको सम्पतिले बनाएको हो ? असक्षम मेयर !?

  2. गजेडी केटोलाई जिताएको उपहार काठमाडौ बासीले पाउदैछन । चिलिमे धोतिलाई कुन दिन खेद्नेछन काठमाडौबासीले !!!

  3. बालेनले गरेका केही निर्णय, जुन दलले भोटको लोभले गर्न सक्दैनथे, प्रशंसनीय थिए । तर पछिल्ला उनका अभिव्यक्ति र निर्णयहरू विवादास्पद हुँदैछन् । सिंहदरवार जलाईदिन्छु, टुकुचामा गाडिदिन्छु, टावर भत्काईदिन्छुजस्ता भनाई बिलकुल अराजक, अनैतिक, गैरकानूनी र गैरजिम्मेवार छन् । टावरमा जे भएको छ कागज, निर्णय सबै महानगरमै हुनुपर्छ । एउटा टिम बनाएर समग्र अध्ययन गराउने निश्कर्ष सहित कारवाहीको लागि अख्तियार पठाए त विवादै सकिन्छ । यो तरिका कानूनी र जिम्मेवार हुन्छ । त्यता नलागेर के अराजक कुरा गर्दै हिडेको ? जिम्मेवार पदमा बसेकाले यसरी नै बोल्छन् ? भ्रष्टाचार गरेको कसैले छ भने राज्यको निकायले छानबिन गरिहाल्छ । बढी जान्ने किन ? सन्काहा भएर महानगर चल्दैन मिस्टर । प्रशासकीय अधिकृतको सम्बन्धमा पनि भएको के हो ? उनले घुस खाएको भए, गैरकानूनी काम गरेको भए तथ्यसहित अख्तियारमा उजुरी देउ न । अख्तियारले ठेगान लगाईहाल्छ नि । खालि मान्छेलाई आरोप लगाएर हाजिर गर्न दिन्न भनेर हुन्छ ? तिम्रो घरको नोकर हो ? लोकसेवामा प्रतिस्पर्धा गरेर अब्बल देखिएर आएका हुन् । बदमासी गरेको प्रमाण छ भने कारवाही अघि बढाउने । अन्यथा मान्छेको अनुहार मन परेन भनेर सन्काहा बन्न मिलेन । यसरी मन नपर्ने बितिक्कै हाजिर गर्न नदिएर सरकारले नयाँ पठाईरहन्छ ? दुख तिमीले नै पाउदैछौ । जनतालाई त शंका लाग्न थालिसक्यो कि कतै बालेन र उसको टिमले महानगरलाई लुटिरहेको त छैन ? जवाफ तिमीसँग खोज्ने बेला आईसक्यो अब ।

  4. जनताहरुका अत्यावश्यक आधारभुत कुराहरु:- गाँस, वास, कपास, शिक्षा, स्वास्थ्यमा सुधार गर्दै गर्दै जानु नि, अनावश्यक भ्यु टावरले यि माथि उल्लेखित समस्या समाधान हुन्छ र ? भएका कलकारखाना बन्द छन । युवा जनशक्ति जति बाहिरि देशमा छन, । सधैं राजनिति किचलाे, कुर्सिका लागि लडाइँ लुट धन्दाले चरम सिमा नाघिसक्याे । कति सहने यि सामन्तवादि साशककाे कार्य निति 😡

Leave a Reply

Your email address will not be published. Required fields are marked *