बिहार सङ्ग्रहालयमा रागिनी उपाध्यायको ‘तेस्रो रेट्रोस्पेक्टिभ प्रदर्शनी’ – Nepal Press

बिहार सङ्ग्रहालयमा रागिनी उपाध्यायको ‘तेस्रो रेट्रोस्पेक्टिभ प्रदर्शनी’

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व तथा पहिलो महिला कुलपति रागिनी उपाध्यायको ‘तेस्रो रेट्रोस्पेक्टिभ प्रदर्शनी’ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मार्च ८ बाट भारतको पटनास्थित बिहार सङ्ग्रहालयमा सुरु भएको छ ।

प्रदर्शनीको उद्घाटन समारोहमा भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, पद्म श्री विजेता निर्मला देवी, बिहार सङ्ग्रहालयका डाइरेक्टर अन्जनीकुमार सिंह, एडिस्नल डाइरेक्टर अशोककुमार सिन्हालगायतको विशेष उपस्थिति रहेको थियो ।

बिहार सङ्ग्रहालयको आयोजना, बीपि कोइराला भारत नेपाल फाउन्डेसनको सहयोग र रागिनी उपाध्याय आर्ट फाउन्डेसनको संयोजनमा भएको प्रदर्शनीमा कलाकार उपाध्यायले सन् १९७८ देखि (विद्यार्थीकालदेखि) हालसम्म बनाएका सयभन्दा बढी कलाकृति रहेका छन् ।

प्रदर्शनीमा अवलोकनकर्ताको उत्साहपूर्ण सहभागिता रहेको र यसले आफूले थप प्रोत्साहित बनाएको उपाध्यायले बताइन् ।

बिहार सङ्ग्रहालयले नेपाली कलाकारहरूको सामूहिक प्रदर्शनी गरेता पनि एकल प्रदर्शनीका लागि भने पहिलोपटक कलाकार उपाध्यायलाई छनोट गरेको हो ।

कुनै पनि कलाकारको जीवनमा रेट्रोस्पेक्टिभ प्रदर्शनीले निकै अर्थ राख्ने गर्दछ । आफ्नो जीवनकालमा बनाएका महत्वपूर्ण कलालाई प्रदर्शनी गरिने भएकाले पनि यसको ठूलो महत्व हुन्छ । यस सन्दर्भमा बिहार सङ्ग्रहालयमा भएको प्रदर्शनी कलाकार रागिनी उपाध्यायका लागि अर्थपूर्ण रहेको छ ।

समग्रमा यो कलाकार उपाध्यायको ७१ औं एकल कला प्रदर्शनी हो भने सङ्ग्रहालयमा गरिएको पहिलो एकल कला प्रदर्शनी हो । उपाध्यायले यसअघि सन् २०२३ मा क्रमशः नेपाल र बेल्जियममा रेट्रोस्पेक्टिभ प्रदर्शनी गरिसक्नुभएको छ । प्रदर्शनी अप्रिल ७ सम्म चल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *