काठमाडौंका विभिन्न ठाँउहरुमा सारी लगाएर हिँडिरहेका यी नायक, के हो खास कुरो ?


काठमाडौं । केही दिनदेखि नायक विरेन्द्र सिंह कुशवाहा अनौठो भेषमा काठमाडौंका विभिन्न स्थानहरुमा देखा परिरहेका छन् । घाँटीमा डोरीको माला लगाई रातो सारीमा एक ठाँउदेखि अर्को ठाँउ हिँडिरहेका छन् ।
रिसाएको अनुहारसहित बजार डुलिरहेका कुशवाहालाई देखेर सर्वसाधारण अचम्ममा छन् भने धेरैले उनको फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट पनि गरिरहेका छन्।
उनी यसरी किन हिडिरहेका छन भन्ने बारे धेरैलाई थाहा होला, भने कति यसबारे जानकार नहोलान। उनी सारी लगाएर एक ठाँउदेखि अर्को ठाँउ आफ्नो चलचित्र प्रोमोसनको लागी हिडिरहेका छन् । उनी यहीँ चैत १५ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डोरी’को प्रोमोसनका लागी सो हुलियामा दर्शकसंग साक्षात्कार गरिरहेका छन् ।
अचेल चलचित्र प्रोमोसनका लागी निर्माण टिमले विभिन्न उपायहरु अपनाउनु कुनै नौलो कुरा भने हैन। नायक विरेन्द्र सिंह कुशवाहा पनि सोही कार्य गरिरहेका छन । चलचित्र ‘डोरी’ को प्रचार रणनीतिअन्तर्गत उनी अनौठो भेषमा काठमाडौंका विभिन्न स्थानहरुमा देखा परिरहेका हुन।
यसअघि सार्वजनिक ट्रेलरमा विरेन्द्रलाई यही गेटअपमा देखाइएको थियो।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी, लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको चलचित्रमा मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, छायाङ्कन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ र रङ्ग संयोजक रेनीश फागो रहेका छन् ।