रुपन्देहीको मर्चवारीमा आगलागी हुँदा ५ कठ्ठाको गहुँबाली जलेर नष्ट – Nepal Press

रुपन्देहीको मर्चवारीमा आगलागी हुँदा ५ कठ्ठाको गहुँबाली जलेर नष्ट

रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ स्थित इस्लामपुरमा आगलागी हुँदा पाँचकठ्ठाको गहुँबाली जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय मर्चवारले दिएको जानकारी अनुसार बुधबार दिउँसो भएको आगलागीबाट त्यो क्षेत्रको गहुँबालीमा नोक्सानी भएको हो ।

प्रारम्भिक अनुसन्धानमा आगलागीको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक घनदेव साउदले जानकारी दिए ।

प्रहरी निरीक्षक साउदका अनुसार मर्चवारी गाउँपालिका–३ का सन्तराम मौर्य, मन्तराम यादव, बलिराम यादव, जयप्रकाश बरई, नन्द पासी र रवि पासीको खेतमा आगोले गहुँबाली क्षति भएको छ ।

आगो लागेपछि समयमा दमकल नआउँदा स्थानीयले स्थानीयले स्रोतसाधनको प्रयोग गरी आगो नियन्त्रण गरेको स्थानीय युवा गोपाल मौर्यले बताए ।

उनले भने, ‘आगो लागेको हल्ला सुनेपछि गाउँबाट मानिसहरु खेतमा दोडी हरियो हाँगासहितको स्थानीय स्रोतसाधनको प्रयोग गरी आगो नियन्त्रण गरेका हुन् ।’

मर्चवारमा दमकल छैन । आगलागीपछि भैरहवा, लुम्बिनी, बुटवल क्षेत्रका दमकलकै भर पर्नुपर्ने बाध्यता छ । यस वर्ष लुम्बिनी प्रदेश सरकारले वारुणयन्त्रको लागि बजेट बिनियोजन गरे पनि हालसम्म बारुणयन्त्र खरिद हुन सकेको छैन ।

अहिले मर्चवारमा दमकल नहुँदा क्षति भएपछि स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिको स्थानीयले आलोचना गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *