वैदेशिक रोजगारी, जीवनशैली र स्वास्थ्य – Nepal Press

वैदेशिक रोजगारी, जीवनशैली र स्वास्थ्य

प्रत्येक दिन हजारौंको संख्यामा विदेशिनु नेपालीहरूको रहर, बाध्यता, मौका जे भए पनि यसका आफ्नै फाइदा एवं चुनौती छन् । नेपालबाट युवाहरू रोजगारीको खोजीमा भारत, खाडी मुलुकहरू जस्तैः साउदी अरब, कतार, यूएई तथा मलेसिया, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र पश्चिमी देशहरूमा पुग्छन् । यो प्रक्रियाले उनीहरूको र देशको आर्थिक अवस्था सुधार गर्न मद्दत गर्छ, तर यसका साथै उनीहरूको बदलिँदो संस्कृति, परिवेश, मौसम, खानपिन र कार्यगत वातावरणले जीवनशैलीमा ठूलो परिवर्तन ल्याउँछ, जसले स्वास्थ्यसँग प्रत्यक्ष असर पु¥याउँछ ।

वैदेशिक रोजगारीले नेपाली कामदारहरूको जीवनशैलीमा गम्भीर परिवर्तन ल्याउँछ । त्यहाँको जीवनशैलीले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा विभिन्न चुनौती निम्त्याउँछ ।

जीवनशैलीमा परिवर्तन र प्रभाव

कामको बोझः नेपाली कामदारहरूले दिनको १०-१४ घण्टासम्म काम गर्नुपर्छ, जसले उनीहरूको व्यक्तिगत समय र आराममा कमी ल्याउँछ ।

बसाइको अवस्थाः धेरैजसो कामदारहरू सानो कोठामा धेरै जनासँग बस्नुपर्छ, जुन असुविधाजनक र अस्वस्थकर हुन्छ ।

खानपानः परम्परागत नेपाली खाना (दाल-भात-तरकारी) को सट्टा फास्ट फुड वा सस्तो खानामा निर्भरता बढ्छ, जसले पोषणको कमी गराउँछ । खाना पकाउने सुविधा सीमित भएकाले तयारी खानेकुराको प्रयोग बढी हुन्छ ।

सामाजिक जीवनः परिवार र आफन्तबाट टाढा रहँदा एक्लोपन र भावनात्मक तनाव बढ्छ । नयाँ देशमा साथी बनाउन र स्थानीय संस्कृतिसँग घुलमिल गर्न समय लाग्छ । नेपाली समुदायसँगको सम्पर्कले भने केही राहत दिन्छ ।

आर्थिक व्यवस्थापनः कमाइको ठूलो हिस्सा परिवारलाई पठाइन्छ, तर व्यक्तिगत खर्च र बचतमा ध्यान कम हुन्छ । कतिपय अवस्थामा ऋण तिर्नमै धेरै समय लाग्छ, जसले जीवनशैलीमा दबाब थप्छ ।

फुर्सदको समयः फुर्सद कम हुने भए पनि केही कामदारहरू सामाजिक सञ्जाल, फिल्म वा साथीहरूसँग समय बिताउँछन् । नशालु पदार्थ (रक्सी, चुरोट)को प्रयोग पनि देखिन्छ, जुन स्वास्थ्य र आर्थिक रूपमा हानिकारक हुन्छ ।

जीवनशैली सुधार्ने उपाय

आहारमा ध्यानः सम्भव भएसम्म घरमै पकाएर खाने र फलफूल तथा तरकारीको प्रयोग बढाउनुहोस् । आयुर्वेदशास्त्रमा बताइएका रोग एवं मौसमअनुसारको खानपानका नियमहरूको पालन गर्नुपर्छ ।

व्यायाम तथा तनाव व्यवस्थापन: दैनिक व्यायाम, योग, ध्यान, प्राणायाम, सद्वृत्तको पालन गर्नुपर्छ ।

समय व्यवस्थापनः कामपछि विश्राम र व्यायामको लागि समय छुट्ट्याउनुहोस् ।

सामुदायिक सहभागिताः नेपाली संघसंस्था वा साथीहरूसँग जोडिएर सामाजिक समर्थन लिनुहोस् ।

प्राविधिक सम्पर्कः परिवारसँग नियमित कुराकानी गरेर भावनात्मक सन्तुलन कायम गर्नुहोस् ।

बचत र योजनाः कमाइको एक हिस्सा भविष्यको लागि बचत गर्नुहोस् ।

नीतिगत व्यवस्थापन

स्वास्थ्य बीमा योजनाः नेपाल सरकारले प्रवासी नेपाली कामदारहरूको लागि अनिवार्य स्वास्थ्य बीमा योजना लागू गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय सम्झौताः नेपाल सरकारले प्रवासी नेपाली धेरै भएका देशहरूसँग सम्झौता गरेर उनीहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नुपर्छ ।

स्वास्थ्य जागरूकता कार्यक्रमः नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई स्वास्थ्य र जीवनशैलीबारे तालिम दिनुपर्छ ।
नेपाली दूतावासको भूमिकाः विदेशमा रहेका नेपाली दूतावासहरूले प्रवासी नेपालीको स्वास्थ्यसम्बन्धी समस्याहरू समाधान गर्नसक्ने प्रभावकारी प्रणाली विकास गर्नुपर्छ । नियमित स्वास्थ्य शिविर र सचेतना कार्यक्रम आयोजना गराउनुपर्छ ।

मानसिक स्वास्थ्य सहयोगः प्रवासी नेपालीको मानसिक स्वास्थ्यलाई ध्यान दिने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । मानसिक रोगहरूमा प्रभावकारी देखिएको योग र ध्यानका आधारभूत तालिमहरू उपलब्ध गराउनुपर्छ ।

नेपाली कामदारहरूको वैदेशिक रोजगारीले आर्थिक अवसर प्रदान गरे पनि जीवनशैलीमा ठूलो प्रभाव पार्छ । वर्तमान अवस्थामा सर्नेभन्दा नसर्ने रोगको प्रकोप बढिरहेको हुनाले खानपान र जीवनशैली व्यवस्थापन अत्यन्तै महत्वपूर्ण विषय बनिरहेको छ । वैदेशिक रोजगारीमा जानुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू पनि नेपालकै नागरिक हुन् । उनीहरूको स्वास्थ्य रक्षा पनि राष्ट्रको जिम्मेवारी हो । तसर्थ समयमै समस्याको पहिचान र व्यवस्थापनका उपायहरू अवलम्बन गर्नसके स्वस्थ तथा सुखी नेपालको हाम्रो साझा सपना साकार हुनेछ ।

(डा. क्षेत्री दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठका उपप्राध्यापक हुन् ।)


प्रतिक्रिया

One thought on “वैदेशिक रोजगारी, जीवनशैली र स्वास्थ्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर