कोदोको रक्सीको ब्रान्डिङबाट सरकारले पाउन सक्छ वार्षिक सवा ११ अर्ब राजस्व – Nepal Press

कोदोको रक्सीको ब्रान्डिङबाट सरकारले पाउन सक्छ वार्षिक सवा ११ अर्ब राजस्व

सामान्यतया मदिरा नशालु पेय पदार्थ हो, जसमा इथानोल हुन्छ । यही इथानोललाई सामान्यतया अल्कोहल भनिन्छ । बजारमा मादक पेय पदार्थहरू जस्तैः बियर, वाइन र स्पिरिटसहित विभिन्न रूपहरूमा आउँछ, जसमा प्रत्येक उत्पादन विधि, सामग्री र अल्कोहल सामग्री फरकफरक हुन्छन् । सर्वव्यापी रूपमा थाहा भएको कुरा हो कि विश्वमा मदिरायुक्त पेय पदार्थहरू हजारौं वर्षदेखि खपत हुँदै आएका छन् । मदिरा उपयोगका आआफ्ना विशेषताहरू रहेको पाइन्छ । विश्वव्यापी रूपमा हेर्ने हो भने यसले हरेक ठाउँमा सांस्कृतिक, सामाजिक र आर्थिक पक्षहरू समेटेको पाइन्छ । जसअनुरूप सांस्कृतिक, सामाजिक र आर्थिक भूमिकाहरू मदिराको उपयोगले खेलेको पाइन्छ । उदाहरणको लागि सामाजिक अनुष्ठान, उत्सव र साँस्कृतिक सम्पदा तथा परम्पराहरूसँग मदिराको गहिरो सम्बन्ध रहँदै आएको पाइन्छ । मदिरालाई जीवनशैलीको रूपमा पनि उपभोग गर्ने गरिन्छ ।

घरेलु मदिरा अर्थात लोकल रक्सीलाई स्थानीय वा स्वदेशी मादक पेय पदार्थको रूपमा पनि चिनिन्छ । घरेलु मदिरा भन्नेबित्तिकै विशिष्ट क्षेत्र वा समुदायहरूमा उत्पादन र उपभोग हुने विभिन्न प्रकारका परम्परागत मदिरा पेय पदार्थहरूलाई जनाउँछ । घरेलु मदिरा अर्थात लोकल रक्सी स्थानीय रूपमा उपलब्ध स्रोत सामग्रीहरू र परम्परागत विधिहरू प्रयोग गरेर बनाइन्छ । स्थानीय रूपमा उपलब्ध स्रोत सामग्रीहरू र परम्परागत विधिहरू प्रयोग गरेर बनाइने हुनाले यसलाई घरेलु मदिरा अर्थात लोकल रक्सी भनिएको हो । यसको इतिहास हेर्ने हो भने नेपालमा शदियौंदेखि पिउँदै आएको पाइन्छ । मदिरा सेवन गर्ने परम्परा मानव जातिकै उत्पत्ति जतिकै पुरानो भेटिन्छ । कोदोको रक्सी परापूर्वकालीन धर्मग्रन्थ तथा पुराणहरूमा पनि भगवानहरूले सोमरसको रूपमा खाने गरेको भेटिन्छ । त्यसयता नेपाली समुदायमा मदिरा पिउँदै आएको पाइन्छ ।

आजको विश्वमा मदिरा खपतको मात्रा दिन प्रतिदिन बढ्दै गइरहेको छ । सन् १९९० देखि २०२२ सम्मको डाटा हेर्ने हो भने यस बीचमा प्रतिवर्ष खपत हुने मदिराको कुल मात्रा ७० प्रतिशतले विश्वव्यापी रूपमा बढेर प्रतिवर्ष २०,९९९ मिलियन लिटरबाट ३५,६७६ मिलियन लिटर भएको पाइन्छ । सन् २०२२ मा विश्वको कुल रक्सी उत्पादन २७.३ विलियन ग्यालन थियो । यसरी हेर्दा मादक पेयको वार्षिक खपत लगभग ४४६ बिलियन लिटर छ । यसमा ३९७ बिलियन लिटर बियर र २६ बिलियन लिटर साइडर र अल्कोहल २३ बिलियन लिटर रहेको छ । बियर संसारभरि सबैभन्दा लोकप्रिय मादक पेय हो ।

इजाजत लिई कर तिरेर व्यापार व्यवसाय गर्न पाउने नीति सर्वमान्य नीति हो । आन्तरिक राजस्व कार्यालयमा कर बुझाउने र उद्योग कार्यालयले वा अन्य निकायले निरन्तर अनुगमन गर्ने र स्थायी लेखा नम्बर/कर बिजक प्राप्त गरी सोहीअनुसार करमा संलग्न गराई घरेलु मदिरा बिक्री गर्ने व्यवस्था सरकारले मिलाउनुपर्छ ।

मदिरासम्बन्धी अध्ययन गर्ने संस्था फोर्च्युन बिजिनेस इन्साइट्स (Fortune Business Insights)का अनुसार सन् २०२३ मा विश्वव्यापी अल्कोहल पेयपदार्थको बजार १९४९.२ बिलियन डलर छ । यसको कारोबार दिन प्रतिदिन बढ्दै गएकाले सन् २०२९ सम्म ४१०२.३ बिलियन डलर पुग्ने अपेक्षा गरिएको छ । सन् २०२२ मा २१६.६ बिलियन डलरको साथमा मदिराजन्य पेय बजारबाट राजस्वको हिसाबले चीन अग्रणी देश हो । संयुक्त राज्य अमेरिका १८७.५ बिलियन कारोबार गरी दोस्रो स्थानमा छ ।

विभिन्न डाटाहरू हेर्दा सन् २०२३ मा नेपालमा मदिराजन्य पेय पदार्थ बजारको राजस्व ६८०.९ मिलियन डलर छ । यसको कारोबार ५.५ प्रतिशतले वार्षिक रूपमा बढ्ने अपेक्षा गरिएको छ । मदिरा बजारको सबैभन्दा ठूलो खण्ड भनेको वाइन हो, जसको बजार मात्रा सन् २०२३ मा ३८६.२ मिलियन डलर छ । सन् २०१६ मा बिजनेस ३६० ले गरेको एक अध्ययनअनुसार नेपालमा घरेलु मदिराको वार्षिक उपभोग करिब ८५ अर्ब रूपैयाँ रहेको छ । देशले उत्पादन र पैठारी गर्ने कुल मदिराको ४५ प्रतिशत काठमाडौंमा मात्र खपत हुन्छ ।

नेपालमा एक वर्षमा ३ अर्ब ७२ करोड रूपैयाँ बराबरको विदेशी मदिरा आयात भएको पाइएको छ । नेपालमा यति ठूलो परिमाणमा विदेशी मदिरा भित्रिँदा स्वदेशमै उत्पादन हुने कोदोको रक्सीलाई किन व्यवस्थित गरेर बिक्री वितरण गर्न सकिएको छैन त ? यो प्रश्न सबैले उठाउने बेला भएको छ । पछिल्लो समय नेपालमा कोदोको रक्सी वा लोकल मदिरालाई ब्रान्डिङ गर्ने बहस भइरहेको छ, तर काम भने अपेक्षित गतिमा हुन सकेको पाइँदैन । एक-दुई स्थानीय तहले उक्त काम गर्न थाले पनि अलमलिएको पाइन्छ । कोदोको रक्सीलाई ब्रान्डिङ गरी बिक्री वितरण गर्न केही कानूनी जटिलता भने देखापरेको छ ।

नेपालमा एक वर्षमा ३ अर्ब ७२ करोड रूपैयाँ बराबरको विदेशी मदिरा आयात भएको पाइएको छ । नेपालमा यति ठूलो परिमाणमा विदेशी मदिरा भित्रिँदा स्वदेशमै उत्पादन हुने कोदोको रक्सीलाई किन व्यवस्थित गरेर बिक्री वितरण गर्न सकिएको छैन त ?

सरकारले घरेलु मदिरा ब्रान्डिङसम्बन्धी ऐन बनाउने तयारी थालेको चर्चा छ । खाद्यान्नबाट बनेको मदिराको अन्तःशुल्क तिर्न पाउने व्यवस्था नभएका कारण अन्यत्र बिक्री वितरण गर्न नसकिएको हो । इजाजत लिई कर तिरेर व्यापार व्यवसाय गर्न पाउने नीति सर्वमान्य नीति हो । आन्तरिक राजस्व कार्यालयमा कर बुझाउने र उद्योग कार्यालयले वा अन्य निकायले निरन्तर अनुगमन गर्ने र स्थायी लेखा नम्बर/कर बिजक प्राप्त गरी सोहीअनुसार करमा संलग्न गराई घरेलु मदिरा बिक्री गर्ने व्यवस्था सरकारले मिलाउनुपर्छ । यसका अलावा उत्पादन प्रक्रियामा नियन्त्रण, मदिराको गुणस्तर नियन्त्रण, प्रयोगशालाको स्थापना र सञ्चालन, बोटलिङ तथा लेबलिङ, प्रदूषण नियन्त्रण तथा फोहोर व्यवस्थापन, गलत काम कारबाहीको नियन्त्रणका विषय पनि समेटिनुपर्छ ।

हामीले कोदोको रक्सीलाई कसरी ब्रान्डिङ गर्न सकिन्छ भनी एक अध्ययन पनि गरेका थियौं । जसमा हामीले घरेलु ज्ञान, सीप र प्रविधि प्रयोग गरी कोदोबाट ३ पाने, ४ पाने, ५ पाने, ६ पाने ७ पाने र ८ पाने मदिरा तयार गर्न लगाइएको थियो । उत्पादित जात र गुणस्तरअनुसारका मदिरा संकलन गरी तयार गरिएका मदिराको छुट्टाछुट्टै नमुना संकलन गरिएको थियो । नमुना संकलनको लागि २१ दिनभन्दा पहिला कोदोलाई उसिनेर रक्सी बनाउन ढोलमा फर्ममेन्टेसन (Fermentation)को लागि राखिएको थियो ।

२१ दिनपछि उक्त ढोलमा तयारी भएको जाँडलाई प्रयोग गरी रक्सी बनाइएको थियो । कोदोको रक्सी बनाउने परम्परागत मोडेलमा कन्टेनर, कन्डेसनर, आरी, पानी फेर्ने स्टीलको भाँडा सबै हामीले तामाको प्रयोग गरेका थियौं । मर्चा भने स्थानीयले उत्पादन गर्दै आएको वा प्रयोग गर्दै आएको प्रयोग गरेका थियौं । मर्चा बनाउनेहरूले कोदोको पिठो, चिनी झार, कोन्या झार, मुलपोतलगायतका सामग्रीहरूको मिश्रणबाट मर्चा बनाउने गरिएको पाइयो ।

कोदोको तीनपाने रक्सीमा अल्कोहलको मात्रा बजारमा पाइने ब्रान्डेड मदिरामा हुने अल्कोहलको मात्राको हाराहारी भएकाले यसलाई सोझै पिउँदा यसले मानव शरीरलाई हानि पुर्‍याउनसक्छ । त्यसैले यस्तो मदिरालाई सोझै पिउन हुँदैन ।

नमुना लिन हामीले प्रत्येक पानेमा तापक्रम नापेपछि २५० ग्रामको दरले डिस्टिल्ड गरेको बोतलमा सिल गरी राखेका थियौं । पाने फेर्दा तापक्रम भने ६० देखि ७० डिग्री सेल्सियस मापन गरेका थियौं । हामीले २७ वटा मदिराका नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरेका थियौं । नमुनाहरू ६ वटा भाँडा/बानबाट संकलन गरिएको थियो । उक्त नमुनाबाट प्राप्त गाउँघरको भाषामा भनिने तीन पानेमा ३३.१४ देखि ४१.२५ प्रतिशत अल्कोहलको मात्रा पाइएको थियो । चार पानेको नमुनाबाट ३१ देखि ३४ प्रतिशत अल्कोहलको मात्रा पाइएको थियो । त्यस्तै पाँच पानेमा २८ देखि ३० प्रतिशत अल्कोहलको मात्रा पाइएको थियो । त्यस्तै ६ पानेमा २३ प्रतिशत अल्कोहलको मात्रा पाइएको थियो । सात पानेमा २१ प्रतिशत अल्कोहलको मात्रा पाइएको थियो ।

तीनपाने रक्सीमा अल्कोहलको मात्रा बजारमा पाइने ब्रान्डेड मदिरामा हुने अल्कोहलको मात्राको हाराहारी छ । जस्तैः ब्ल्याक लेबल, ८८४८, जिन र रेड लेबलमा ४० प्रतिशत, वल्ड दरबारमा ४२.८० प्रतिशत र भोड्कामा ४० प्रतिश अल्कोहलको मात्रा हुन्छ । नेपालमा पाइने कोदोको तीनपाने रक्सीमा अल्कोहलको मात्रा बजारमा पाइने ब्रान्डेड मदिरामा हुने अल्कोहलको मात्राको हाराहारी भएकाले यसलाई सोझै पिउँदा यसले मानव शरीरलाई हानि पुर्‍याउनसक्छ । त्यसैले यस्तो मदिरालाई सोझै पिउन हुँदैन । यस्तो मदिरालाई पानी मिसाई पातलो बनाई मदिरामा भएको अल्कोहलको मात्रा घटाएरमात्र पिउनुपर्ने हुन्छ ।

सरकारले तयार पारेको प्रतिवेदनअनुसार २०७८/७९ मा नेपालमा ११ करोड ३९ लाख ६९ हजार लिटर स्प्रिट कोदोको रक्सी अनौपचारिक क्षेत्रबाट उत्पादन भएको अनुमान छ  । यो दरमा सरकारले अन्तःशुल्कबापत वार्षिक नौ अर्ब ७५ करोड राजस्व उठाउन सक्नेछ । यसैगरी एक अर्ब ५० करोड भ्याट उठ्नेछ  ।

कोदोको रक्सीलाई ब्रान्डिङ गरी बजारमा बिक्री गर्न लैजाने मदिराहरूको अल्कोहल मात्रा परीक्षण गरेर त्यसमा भएको अल्कोहलको मात्रा खुलाई लेबलिङ गरी बिक्री वितरण गर्न उपयुक्त देखिन्छ । त्यस्तो मदिरालाई ब्रान्डिङ गरी व्यावसायिक रूपमा उत्पादन गरी बिक्री वितरण गर्दा स्थानीयस्तरमा रोजगारीमात्र प्राप्त नभई समग्र देशको अर्थतन्त्रमा नै टेवा पुग्ने देखिन्छ ।

साथै स्थानीय रक्सीलाई कानूनी मान्यता दिँदा करिब १० लाख जनाको आंशिक रोजगारी सिर्जना हुने सम्भावना छ  । स्थानीय कच्चापदार्थ वा घटकको प्रयोगले परम्परागत स्थानीय रैथाने मदिराको उत्पादनलाई दिगोपन दिने र अर्गानिक कोदोबाट रक्सी उत्पादनमा निरन्तरता दिन सकेमा यसले राम्रै बजार लिने देखिन्छ । यस्तै नेपालको परम्परागत मदिरालाई विश्व मानचित्रमा स्थापित गर्न सहयोग पुर्‍याउनुका साथै नेपालको निर्यात वृद्धि हुन गई शोधान्तर स्थिति मजबुत बनाउन मद्दत पुग्नेछ ।

यससम्बन्धी सरकारले तयार पारेको प्रतिवेदनअनुसार २०७८/७९ मा नेपालमा ११ करोड ३९ लाख ६९ हजार लिटर स्प्रिट कोदोको रक्सी अनौपचारिक क्षेत्रबाट उत्पादन भएको अनुमान छ  । यो दरमा सरकारले अन्तःशुल्कबापत वार्षिक नौ अर्ब ७५ करोड राजस्व उठाउन सक्नेछ । यसैगरी एक अर्ब ५० करोड भ्याट उठ्नेछ  । त्यसअनुसार सरकारले भ्याट र अन्तःशुल्कबाट ११ अर्ब २५ करोड राजस्व पाउनेछ  । यसबाहेक अन्य आयकरलगायत राजस्व पनि बढ्नेछ । यसले किसानलाई कोदो उत्पादन गर्न पनि प्रोत्साहित गर्नेछ । त्यसैले कोदोको रक्सी वा घरेलु मदिरालाई ब्रान्डिङ गरी बजारमा बिक्री वितरण गर्ने व्यवस्था गर्न सरकारले ढिला गर्नुहुँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *