११ औँ महाधिवेशन सर्वसम्मत हुन्छ, कुनै गुटबन्दीको फेरो समाउन जरुरी छैन : एमाले उपाध्यक्ष पौडेल (भिडिओ) – Nepal Press

११ औँ महाधिवेशन सर्वसम्मत हुन्छ, कुनै गुटबन्दीको फेरो समाउन जरुरी छैन : एमाले उपाध्यक्ष पौडेल (भिडिओ)

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको आगामी ११ औँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने भएकाले कुनै व्यक्ति विशेषको फेरो नसमाउन कार्यकर्तालाई निर्देशन गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्र रहेको रुपन्देहीको क्षेत्र नं २ मा पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा उनले यति ठूलो पार्टीभित्र कुनै व्यक्ति विशेषको गुटबन्दीमा नरमाउन उनको आग्रह थियो ।

महाधिवेशन र त्यसमा कुनै गुट-उपगुट नहुने भएकाले सबै नेता कार्यकर्तालाई त्यस प्रकारको काममा नलाग्न उनको निर्देशन थियो । पौडेलले गुटबन्दी गर्ने नेता कार्यकर्तामाथि निर्मम भएरै कारबाही गर्ने बताए । पार्टीको नीति नियममा हिँड्न र कुनै पनि नेताका पछाडि नलाग्न आग्रह मात्रै गरेनन् पार्टीको विधि विपरीत गुटबन्दी गर्ने विरुद्ध सूक्ष्म अध्ययन भइरहेको बताए ।

‘११ औँ महाधिवेशन सर्वसम्मत हुन्छ, कुनै दबाबले सर्वसम्मत हुने होइन, विश्वासले सर्वसहमति हुने हो, माथि यस्तो अवस्था छ तर तल केही व्यक्ति रमाउनका लागि किन अनावश्यक चर्चामा समय खर्चिनुपर्‍यो ?’ उनले भने- ‘गुटबन्दीको धन्धाले केही हुँदैन, पार्टीका पछि लाग्नुस् व्यक्तिको होइन, यस्तो धन्धामा कोही नलाग्नुस् ।’ उपप्रधान तथा अर्थमन्त्री रहेका पौडेलले रुपन्देहीबाट राजनीतिक संस्कार अघि बढाउनुपर्ने जनाए । ‘गुटबन्दीको कारण समस्या आएको छ, हामीमाथि अरूले प्रहार निर्मम प्रहार गरिरहेका छन् अनि भित्रैबाट यस्तो गलत काममा किन रमाउने ? कम्तीमा रुपन्देहीका साथीहरू यस्तो काममा नलाग्नुस्’ उनले भने –‘यत्रो शक्तिशाली पार्टी भएपछि किन व्यक्तिका पछि लागेर आफ्नो भविष्य संकटमा पार्नुहुन्छ, दुई गुट छ तीन गुट छ भनेर आफै समूह बनाएर किन दिन बिताउने गर्नुहुन्छ ? आफै रमाउन यस्तो गुटको सहारा लिनुपर्‍यो ?’

नेता पौडेलले संकटको समयमा सरकारको नेतृत्व गरेको बेला सरकारले गरेका राम्रा कामको प्रचार गर्न उनले आग्रह गरे । ‘यस्तो संकटको समयमा पार्टीले सरकारको नेतृत्व गरेको छ, यो बीचमा सरकारले निकै राम्रा काम गरेको छ तर हामीले जनस्तरमा प्रचार कम गरेका छौँ, विरोधीहरू साना साना कमजोरीलाई गलत प्रचार गरिरहेका छन् तर हामी चुपचाप छौँ, यति ठूलो शक्तिशाली संगठन छ हाम्रो तर राम्रोलाई यो यो राम्रो भएको छ भनेर त सूचना दिनुपर्‍यो नि,’ पौडेलले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर