‘नालायक’ भन्दै नेविसंघका ११ केन्द्रीय सदस्यले मागे कास्की कांग्रेसका सभापतिको कारबाही


पोखरा । नेपाल विद्यार्थी (नेवि) संघका ११ केन्द्रीय सदस्यले नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराललाई कारबाहीको माग गरेका छन् ।
कास्कीबाट प्रतिनिधित्व गर्ने नेविसंघका ११ केन्द्रीय सदस्यले बिहीबार पत्रकार सम्मेलन गर्दै कास्की सभापति बराल पार्टी विक्री गर्न तत्पर रहेको भन्दै कारबाहीका लागि माग गरेका हुन् ।
ती ११ सदस्यले बराललाई कारबाही गर्न कांग्रेस केन्द्रीय अनुशासन समितिलाई पत्रसमेत पठाएका छन् । बरालले नेविसंघका उम्मेदवारलाई मत माग्नुपर्नेमा सामाजिक सञ्जालमार्फत स्ववियु निर्वाचनमा स्वतन्त्र लगायत आफ्नो इच्छाले मताधिकार प्रयोग गर्न अपिल गरेको उनीहरूको आरोप छ ।
‘ऐतिहासिक लोकतान्त्रिक पार्टी नेपाली काँग्रेस बिक्री गर्न तत्पर हुने नालायक पार्टी सभापति किशोरदत्त बराललाई नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी निलम्बनको लागि नेविसंघ केन्द्रीय समिति र आम कस्केली कांग्रेसीहरु जोडदार माग गर्दछौं,’ प्रेस विज्ञप्ति तथा कारबाही पत्रमा भनिएको छ ।
स्ववियु निर्वाचनमा बन्द कोठाभित्रबाट क्रियाशिल विद्यार्थी माझ लोकप्रिय नेतालाई गुटबन्दीका आधारमा हतोत्साहित बनाउँदै उम्मेदवार हस्तक्षेप गरेको नेविसंघ केन्द्रीय सदस्य अन्जान थापाले बताए। निर्वाचनको सन्दर्भमा उद्योगी, व्यापारीबाट चन्दा संकलन गर्ने तर निर्वाचनमा कहीँ कतै अभिभावकिय भूमिका समेत निर्वाह नगरी आर्थिक अपचलन गरेको उनको आरोप छ ।
७ दिनभित्र कारबाही नभए सशक्त आन्दोलनका कार्यक्रमको घोषणा गर्ने उनीहरूको चेतावनी छ ।
कास्की सभापति बरालले आफूले गल्ती गरेको भए कारबाही भोग्न तयार रहेको बताए । स्ववियु निर्वाचनमा आफूले नेविसंघका कुनैपनि उम्मेदवारलाई हराउन नलागेको र टिकटमा हस्तक्षेप पनि नगरेको उनले दाबी गरे ।
स्ववियु निर्वाचनमा कास्कीमा नेविसंघ नील भएको छ । यसअघि जितेको वन विज्ञान क्याम्पस गुमाएको नेविसंघ देशकै ठूलो पृथ्वीनारायण क्याम्पसमा आधा भन्दा कम मत ल्याएर अनेरास्ववियुसँग पराजित भयो भने त्रिविकै आंगिक क्याम्पस इन्जिनियरिङ र नर्सिङमा पनि निरीह भयो ।
कास्कीमा रहेका चार आंगिक क्याम्पसमध्ये तीनवटामा एमालेनिकट अनेरास्ववियुले जित्दा पश्चिमान्चाल इन्जिनियरिङमा स्वतन्त्रले सभापति जितेका छन् ।