द्वन्द्वपीडितको घाउमा मल्हम लगाउँ, मलाई श्रेय चाहिएनः प्रधानमन्त्री ओली (भिडिओ)


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया पूरा गर्ने प्रयासमा आफूलाई कुनै श्रेय नचाहिएको बताएका छन् । पीडितको घाउमा मल्हम लगाउने आफ्नो एकमात्रै ध्येय रहेको उनको भनाइ छ ।
नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘नेपालमा शान्ति प्रक्रिया हामी आफैँले सुरू गरेर अगाडि बढाएका हौं । कसले श्रेय लिने हो भन्ने छोडौं । म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय जति मबाहेक सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक होइन । श्रेय चाहिएन ।’
ओलीले अब नेपालमा शान्ति हुन्छ भनेर जनतालाई निश्चिन्त बनाउनुपर्नेमा जोड दिए ।
‘हामीले जनतालाई निश्चिन्त बनाउँ । अब नेपालमा शान्ति हुनेछ । यस्तो हिंसा हुने छैन । यसरी मान्छे पिडित हुने छैन । यहीँ बस्नेबीचकै (आफूसहित देउवा र प्रचण्ड) त कुरा हो नि ! एकजना भर्खर जानुभयो, म बोल्दैछु, एकजना यहीँ हुनुहुन्छ । हामीले संकल्प गर्यौं भने यो चिजलाई रोक्न सक्ने कुरा छैन । पीडितलाई न्याय दिन नसकिने कुरा छैन । सकिन्छ । सक्नुपर्छ । त्यही विश्वासमा लागेको छु ।’