एआईजी बढुवा सिफारिसको तयारीमा गृह, हेडक्वार्टरमा एसपी सरुवाको चटारो – Nepal Press

एआईजी बढुवा सिफारिसको तयारीमा गृह, हेडक्वार्टरमा एसपी सरुवाको चटारो

काठमाडौं । सरकारले नेपाल प्रहरीको रिक्त एआईजी बढुवाका लागि ६ जनालाई सिफारिस गर्ने तयारी गरेको छ । नक्सालस्थित प्रहरी हेडक्वार्टरमा भने एसपी सरुवाको चटारो छ । जिल्ला प्रहरी प्रमुखका रूपमा एक वर्षे कार्यअवधि पूरा गरेका एक दर्जनभन्दा बढी एसपीको सरुवा हुन लागेको हो ।

चैत ४ मा आईजी वसन्तबहादुर कुँवरसहितका उच्च अधिकृत अवकाश भएसँगै खालि भएका ६ एआईजी बढुवाका लागि गृह सचिव गोकर्णमणि दवाडी संयोजकत्वको सिफारिस समितिले मूल्यांकनकार्य अगाडि बढाएको मन्त्रालय स्रोतले जनाएको छ । ६ एआईजी बढुवाका निम्ति १० जनाबीच चर्को प्रतिस्पर्धा चलिरहेको छ ।

अहिलेका आईजी दीपक थापाकै ब्याचका डीआईजीहरु चन्द्रकुवेर खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल एआईजी बढुवाको लहरमा छन् । खापुङ र आचार्य २०७९ चैत २९ गते एसएसपीबाट डीआईजी बढुवा सिफारिस भएका थिए । पोखरेल भने २०८१ जेठ ४ मा डीआईजी भएका हुन् । यी तीनैजना नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा २०५२ कात्तिक २७ मा नियुक्त भएका हुन् ।

बाँकी तीन एआईजी सिफारिसका निम्ति डीआईजी बढुवाको कुन मितिका अधिकृतलाई समेट्ने भन्नेमा विवाद रहँदै आएको छ । नियुक्ति मितिदेखि एसएसपी बढुवासम्म अगाडि रहेका सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकहरूको टोलीलाई पहिला एआईजी बनाउने कि दानबहादुर कार्की, डा।मनोजकुमार केसी, राजन अधिकारीहरूको टोली भन्नेमा विवाद रहँदै आएको हो । शाहसहितको टोली गत मंसिर ९ मा डीआईजी बढुवा भएको हो । कार्कीहरूको टोली जेठ ४ मा डीआईजी बढुवा भएको हो ।

शाहहरुको टोली राष्ट्रिय अनुसन्धान अधिकृतका रूपमा २०५३ पुस ५ मा नियुक्त भएको हो । पछि सेवा परिवर्तन गरी नेपाल प्रहरीमा समायोजन भएका हुन् । कार्की, डा।केसी, अधिकारीसहितका अधिकृत भने प्रहरी इन्स्पेक्टरकै रूपमा २०५४ चैत १८ मा नियुक्त भएका थिए ।

प्रहरी नियमावलीबाट ३० वर्षे सेवा अवधि हटेमा यी दुईमध्ये अहिले जुन टोली बढुवामा अगाडि हुन्छ, त्यही टोलीबाट ३२ औँ आईजी बन्ने कारण प्रतिस्पर्धा पेचिलो बनेको हो ।

जिल्ला कमाण्डका लागि दौडधुप

जिल्ला प्रहरी प्रमुखका रूपमा एक वर्षको कार्य अवधि पूरा गरेका दर्जनभन्दा बढी जिल्ला जानका निम्ति एसपीबीच दौडधुप तीव्र भएको छ ।

गत वर्ष फागुन १ को बढुवामा विभिन्न जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपीहरु अहिले सरुवाको मुखमा छन् । उक्त बढुवा मितिका केही एसपी भने दुई महिनामै जिल्लाबाट तानिएका थिए ।

झापाका मिलन केसी, रुपन्देहीका रन्जितसिंह राठौर, कन्चनपुरका चक्रराज जोशी, कैलालीका पदमबहादुर विष्ट, बाँकेका तुलबहादुर कार्की, पाल्पाका नरेन्द्रबहादुर चन्द, गोरखाका वासुदेव पाठक, गुल्मीका राजन भुजेल, सुर्खेतका रुपेश खड्का, स्याङ्जाका शालिग्राम शर्मा, काभ्रेकी वसुन्धरा खड्कासहितका एसपी सरुवा हुन लागेका हुन् ।

आईजी दीपक थापाले सरुवा मापदण्ड संशोधन गर्दै कार्यक्षमताका आधारमा एसपी सरुवा गर्न मातहत शाखालाई निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ । ‘भनसुनमा हैन, क्षमता हेरेर गर्न निर्देशन दिनुभएको छ’, स्रोतले भन्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर