शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन पार्टी फुटाउन पनि तयार भएँ : प्रचण्ड – Nepal Press

शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन पार्टी फुटाउन पनि तयार भएँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिआरसीमा पीडितहरूलाई सम्बोधन गर्ने कुरा उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरामा राजनीतिक नेतृत्व तहमा कहिले विवाद नभएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित संक्रमणकालीन न्याय सम्बन्धी राष्ट्रिय सम्मेलनमा उनले सबै विवाद र विमतिको बीचमा पनि शान्ति प्रक्रिया टुङ्गाउनुपर्छ भन्ने कुरामा सैद्धान्तिक रूपमा कहिले विवाद नभएको भन्दै त्यही भएर राजनीतिक द्वन्द्व जस्तो समयमा पनि विधेयक संशोधनको कुरा टुङ्गाउन सफल भएको बताए ।

उनले भने, ‘टिआरसीमा पीडितहरूलाई सम्बोधन गर्ने कुरा उच्च प्राथमिकतामा राख्न पर्छ भन्ने कुरामा राजनीतिक नेतृत्व तहमा कहिले पनि विवाद भएन । मानिसलाई कहिलेकाहीँ लाग्छ यस्तो होइन होला भनेर तर राजनीतिक नेतृत्वहरू मूलतः पीडितहरूलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्र शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा पनि हामी कहिले पनि अन्योलमा परेनौ । अहिले पनि राजनीतिक दलहरूको बीचमा विवादहरू छन् । प्रमुख दलहरू नै कोही सत्ता पक्षमा छौ कोही प्रतिपक्षमा छौ, विवाद चलिरहेको छ । सदनमा बहस भइरहेको छ, यी सबै विवाद र विमतिको बीचमा पनि शान्ति प्रक्रिया टुङ्गाउनुपर्छ भन्ने कुरामा सैद्धान्तिक रूपमा कहिले पनि विवादमा भएनौ । ढिला त भयो र विवादले गर्दा भएको होइन त्यो भन्न मिल्दैन ।’

उनले शान्ति प्रक्रियालाई सफलतापूर्वक अगाडि बढाउँदा पार्टी नै विभाजन भएको उनले स्मरण गरे । शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन आफू पार्टी विभाजनका लागि समेत तयार भएको उनको भनाई छ ।

उनले भने, ‘शान्ति प्रक्रियालाई सफलतापूर्वक अगाडि बढाउनको लागि आफ्नो पार्टी विभाजन गर्नुपर्छ भने पनि ठिक छ । तर शान्ति प्रक्रिया दुर्घटनामा नजाओस् भनेर धेरै जोखिम उठाएर हामीले सेना समायोजनसँग सम्बन्धित विषय वा संविधान निर्माण प्रक्रियासँग सम्बन्धित विषयमा राजनीतिक तहमा समझदारी गर्ने प्रयास गरिराख्यौँ ।’

आफू शान्ति सम्झौताको हस्ताक्षरकर्ता र हिजो विद्रोहको नेतृत्व गरेको नाताले पनि शान्ति प्रक्रियाका अत्यन्तै जटिल र संवेदनशील विषयहरूलाई टुङ्गोमा पुर्‍याउन आफ्नो ठाउँबाट धेरै जोखिम उठाएको पनि उनको भनाई छ ।


प्रतिक्रिया

One thought on “शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन पार्टी फुटाउन पनि तयार भएँ : प्रचण्ड

  1. प्रचण्डजति झुठ बोल्ने र कुरा फेर्ने त व्यापारी पाइदैन होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर