अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला शुरू (फोटोफिचर) – Nepal Press

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला शुरू (फोटोफिचर)

काठमाडौं । ललितपुरको हेरिटेज गार्डेनमा ८औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु भएको छ । देशभरिका महिला उद्यमीहरूको प्रतिनिधि संस्थाको रुपमा कार्यरत महिला उद्यमी महासंघ नेपालले उक्त मेला आयोजना गरेको हो ।

महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाहरूको प्रवर्द्धन तथा बजारीकरण गर्ने कार्यलाई सहयोग पुर्‍याउन विगत एक दशकदेखि निरन्तर रुपमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आयोजना गर्दै आइरहेको छ ।

यस वर्षको अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्यमी आमाहरूले छोरीहरूलाई पनि उद्यमी बनाउन आग्रह गरे ।

यही चैत्र १४ देखि सुरु भएको यो मेला १८ गतेसम्म हुनेछ । ५ दिनसम्म सञ्चालन हुने मेलामा महिला उद्यमी महासंघ नेपालको ७२ वटा जिल्ला संघहरुबाट महिला उद्यमीहरूको सहभागिता रहेको छ ।

मेलाले नेपाली महिला उद्यमीहरूका उत्पादनहरूको प्रवर्द्धन र बजारीकरण गर्न सहयोग पुर्‍याई महिला उद्यमशीलताको विकासबाट आन्तरिक उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धनमा सहयोग मार्फत नेपालको अर्थतन्त्र सुधारमा सहयोग पुर्‍याउने महासंघकी अध्यक्ष शोभा ज्ञवालीले जानकारी दिइन् । व्यापार मेलाको माध्यमबाट ५ हजार ५ सयभन्दा बढी महिला उद्यमीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित हुने उनले बताइन् ।

मेलामा १४४ वटा बिक्री स्टलहरू राखिएको छ । जसमा २ वटा प्याभिलियनहरु, ५८ वटा महिला उद्यमी जिल्ला संघबाट सहभागी भएका महिला उद्यमीहरू र बाँकी ८२ वटा स्टलहरूमा स्वदेशी तथा विदेशी महिला उद्यमीहरूले आफ्ना उत्पादन प्रदर्शनमा राखेका छन् ।

मेला अवधिमा नेपालभरि छरिएर रहेका महिला उद्यमीहरूले उत्पादन गरेका कृषि जन्य वस्तुहरू, हस्तकलाका सामाग्रीहरू, खाद्य सामाग्रीहरू, अन्तर्राष्ट्रिय वस्तुहरू, सेवामूलक वस्तु तथा सेवाहरूको प्रवर्द्धन तथा बिक्री वितरणका लागि राखिएको छ ।

मेला अवधिमा अन्तर्राष्ट्रिय क्षेत्रका महिला उद्यमीहरू र उनीहरूका उत्पादन सहितको सहभागिता हुने भएकोले नेपालका महिला उद्यमीहरूले उपयोग गरेका प्रविधिहरू, बजारीकरणको लागि अवलम्बन गरेका उपायहरू (वस्तुको लेवलिङ्ग, प्याकेजिङ्ग, ब्राण्डिङ) लगायतका विषयमा जानकारी लिन पाउने छन् ।

नेपालमा उत्पादित नेपाली वस्तुहरूको अन्तर्राष्ट्रिय क्षेत्रमा बजार विस्तार गर्नको लागि समेत यो मेला सहयोगी हुने अध्यक्ष ज्ञवालीले जानकारी दिइन् । मेलामा साढे २ करोडको कारोबार हुने अनुमान गरिएको ज्ञवालीले जानकारी दिएकी छिन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर