पोखरामा अन्तर्राष्ट्रियस्तरको भलिबल हुँदै, पहिलोपटक इन्डोर हलमा हुने – Nepal Press

पोखरामा अन्तर्राष्ट्रियस्तरको भलिबल हुँदै, पहिलोपटक इन्डोर हलमा हुने

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा आगामी वैशाख १८ देखि २२ गतेसम्म पोखरा रंगशालास्थित मल्टिपर्पोज हलमा उक्त प्रतियोगिता हुन लागेको हो । पोखरामा पहिलो पटक इन्डोर हलमा अन्तर्राष्ट्रिय स्तरको भलिबल हुन लागेको हो ।

प्रतियोगितामा दुई विदेशीसहित ६ टोलीको सहभागिता रहने लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । पाकिस्तान भलिबल क्लब इस्लामावाद विदेशी टोलीको रुपमा सहभागिता जनाउने छन् ।

अर्को विदेशी टोलीको लागि भारत र इरानको टोलीसँग सल्लाह भइराखेको र तीमध्ये एउटालाई सहभागी बनाइने डिष्ट्रिक्ट गभर्नर अर्यालले बताए । स्वदेशी टिमको रुपमा तीन विभागीयसहित गण्डकी प्रदेश रहनेछ ।

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्रदान गरिने डिष्ट्रिक्ट गभर्नर अर्यालले जानकारी दिए ।

लायन्सको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भलिबलको प्रवद्र्धन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *