बुद्धिष्ट एजुकेशन भवन निर्माणमा लापरवाही, तत्काललाई रोक्न सुनिता डंगोलको निर्देशन


काठमाडौं । काठमाडौं महानगरपालिकाको अनुगमन समितिले वडा नम्बर–१५ को किमडोलमा निर्माण हुँदै गरेको धर्मकिर्त विहारको स्वामित्वमा भएको बुद्धिष्ट एजुकेशन भवनको काम तत्काललाई रोक्न निर्देशन दिएको छ ।
अनुगमन समितिका संयोजक समेत रहेकी उपप्रमुख सुनिता डंगोलले स्थलगत निरीक्षणका क्रममा यस्तो निर्देशन दिएकी हुन् । उनी विज्ञ टोली लिएर अनुगमनमा पुगेकी थिइन् । डंगोलले सम्झौता अनुसार काम नभएको भन्दै निरीक्षणछि भवन निर्माणको काम रोक्न निर्देशन दिएकी छन् ।
२०८२ साल भदौ २२ सम्ममा सम्पन्न गर्ने गरी सो भवन ५६ लाख ५८ हजार ३ सय ७२ रुपैँया भ्याटबाहेक निर्माण निर्माण सम्झौता भएको थियो । डंगोलले सम्झौता अनुसार काम नभएपछि तत्कालका लागि निर्माणको काम रोक्न निर्देशन दिएको जानकारी दिइन् ।
‘भवन निर्माणका क्रममा भर्याङ नमिलेकाले भत्काउनु पर्ने अवस्था देखियो । त्यसैगरी फर्मामुनि इट्टा राख्नेलगायतका काममा पनि लापरवाही भएको पाइयो,’ डंगोलले भनिन्, ‘अनुगमन गर्दा काम सन्तोषजनक नदेखिएपछि अर्को पटक काम सुरु गर्नुभन्दा अगाडि पुनः अनुगमन गर्ने र त्यसपछि मात्रै भवन निर्माणको काम थाल्ने भनेर निर्देशन दिएका छौँ ।’
सम्झौता अनुसार सबै कामहरु सुधार नगरेसम्म रकम निकासा नगर्ने पनि उनले प्रष्ट्याइन् । ढलान गरेको ठाउँमा पानी हाल्ने लगायतका काममा समेत लापरवाही देखिएको डंगोलको भनाइ छ । सुपरभिजन गर्ने आर्किटेक इन्जिनियर र सिभिल इन्जिनियरले पटक-पटक मौखिक निर्देशन तथा सुझाव दिँदा समेत सो बमोजिमको कार्य नगरेको भनिएकोले अव उप्राप्त फोकल पर्सन, आर्किटेक इन्जिनियर र सिभिल इन्जिनियर मार्फत् सम्बन्धित विभागबाट लिखित स्वीकृति नगरी कुनै काम अगाडि नबढाउन पनि उपमेयरले निर्देशन दिइन् ।
डंगोलले पछिल्लो समय महानगरपालिकाले सडक, सडक किनारा, ढल निकास, भवनजस्ता भौतिक पूर्वाधारको गुणस्तरीयता र दिगोपनाका लागि पूर्वाधार अनुगमनलाई तीव्र पारेकी छन् । यो अनुगमन पनि नियमित भएको उनले बताइन् ।
अनुगमनको काम परियोजनाहरु सम्पन्न भएपछि मात्रै नभई परियोजनाहरु सुरु हुँदै गर्दा पनि गर्नुपर्ने र त्यसले गुणस्तरीय संरचना निर्माणमा सहयोग पुग्ने उनको विश्वास छ ।
सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले पनि सम्झौता अनुसार काम नभएकाले निर्माणमा रोक लगाएको बताए भवन निर्माणको काम श्री आदि इन्जिनियरिङ सर्भिसेज (प्रा.) लिले गरिरहेको छ ।