चैत ३० मा दमकमा एमालेको सभा, १ लाख जनता उतार्ने दाबी – Nepal Press

चैत ३० मा दमकमा एमालेको सभा, १ लाख जनता उतार्ने दाबी

झापा । नेकपा एमालेले चैत ३० गते झापाको दमकमा जनसभा तथा प्रदर्शन गर्ने भएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका ईञ्चार्ज शेरधन राईले सभामा एक लाख जनता उतार्ने बताए ।

आज दमकमा प्रेस चौतारी झापाले गरेको पत्रकार सम्मेलनमा राईले प्रतिगामीहरुलाई टाउको उठाउन नदिन एमालेले बृहत जनसभाको तयारी गरेको बताए ।

जरा अभियान मार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमालेले प्रतिगामीलाई तह लगाउदै प्राप्त उपलब्धी रक्षाका लागि सक्षम रहेको धारणा उनले राखे । उनले नेकपा एमाले, नेपाली कांग्रेस उपलब्धी रक्षाका लागि चुप लागेर नबस्ने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेता राईले मुलुकमा राजनीतिक अस्थिरता र प्रतिगामी तत्वहरु सल्वालाएकाले जनतालाई सचेत गराउन आवश्यक रहेको बताएका थिए । एमालेको मिसन ०८४ र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई कमजोर बनाउन प्रतिगामीहरुले अराजक गतिविधि बढाइएको उनको दाबी छ ।

नेकपा एमाले अहिले पार्टी सुदृढ एवम् बलियो आधार तयार गर्न परिचालन भइरहेको बेला अराजक तत्वहरुले मुलुकमा अवाञ्छित गतिविधिहरु गरेको उनको आरोप छ ।

बृहत जनसभामा २ हजार स्वयमसेवक परिचालन गर्ने तयारी गरिएको छ । जनसभामा नेकपा (एमाले) का नेता, कार्यकर्ता र सदस्यहरु परिचालित हुने छन् । जनसभा तयारीका लागि ईञ्चार्ज राईको संयोजकत्वमा जनपरिचालन कमिटी बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर