उनीहरु छुट्दा राजावादीको फोटोसेसन अधुरो, संयुक्त आन्दोलनप्रति राप्रपाको यस्तो कुरो – Nepal Press

उनीहरु छुट्दा राजावादीको फोटोसेसन अधुरो, संयुक्त आन्दोलनप्रति राप्रपाको यस्तो कुरो

भोलिको जनसभामा राजेन्द्र लिङ्देन र कमल थापालाई पनि वक्ताका रुपमा निम्तो

काठमाडौं । दोस्रो जनआन्दोलनका बेला भएका जनसभाहरुमा तत्कालीन ७ राजनीतिक दलका नेताहरु मञ्चमा एक–अर्काको हात समातेर जोशका साथ उठाउँथे र एकताको सन्देश दिन खोज्थे । त्यही दृष्यको झल्को दिन खोजे राजावादी नेताहरुले आज एक पत्रकार सम्मेलनमा ।

राजसंस्था पुनर्स्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समिति’ले गरेको पत्रकार सम्मेलन सकिएपश्चात ६ जना (नवराज सुबेदी, डा. प्रकाशचन्द्र लोहनी, दुर्गा प्रसाईं, डा. धवलशम्शेर राणा, डा. जगमान गुरुङ, रत्नकमल वैद्य) राजावादी नेताले मञ्चमा एक–अर्काको हात उठाएर फोटोसेसन गरे । तर, यो दृष्यमा राजासंस्थाको वकालत गर्दै लामो समयदेखि संघर्ष गरिरहेका केही चर्चित अनुहारहरु छुटेका थिए ।

छुटेका मुख्य दुई नाम हुन् राजेन्द्र लिङ्देन र कमल थापा । देशको सबैभन्दा ठूलो राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व लिङ्देनले गर्छन् भने राप्रपाबाट अलग्गिएर थापाले राप्रपा नेपालको नेतृत्व गर्दै आएका छन् ।

दुवैलाई आजको पत्रकार सम्मेलनमा निम्तो गरिएको थिए, तर उनीहरु सहभागी भएनन् । अन्य दुई पुराना राजावादी हस्ति पशुपति शम्शेर राणा र केशरबहादुर बिष्ट पनि प्रेसमिटमा अनुपस्थित रहे । यी चारजना पनि थपिएको भए आजको फोटोसेसन अझै समृद्ध देखिने थियो ।

नवराज नेतृत्वको संयुक्त जनआन्दोलन समितिलाई राप्रपाले संस्थागतरुपमा अपनत्व लिएको छैन । यद्यपि, कुनै पनि समूहले राजसंस्थाको पक्षमा गर्ने गतिविधिलाई समर्थन र सहयोग गर्ने पार्टीको घोषित नीति हो । सोही नीतिको सुविधा लिएर राप्रपाका केही हस्ति नेताहरु नवराजको छातामुनि ओत लागेका छन् ।

नवराज आफैं अस्तिसम्म राप्रपाका कार्यसम्पादन समिति सदस्य थिए । मोर्चा गठनपछि उनले राप्रपामा नबस्ने सार्वजनिक घोषणा गरे पनि अहिलेसम्म राजीनामा भने पठाएका छैनन् । उनले नेतृत्व गरेको समितिभित्र राप्रपाकै नेताहरु निर्णायक भूमिकामा छन् । राप्रपा आफैंले आन्दोलनको घोषणा गरिसकेको अवस्थामा पार्टीका नेताहरु अर्को समानान्तर अभियानमा जोडिँदा केही विरोधाभासको स्थिति देखा परेको छ ।

त्यसो त अध्यक्ष लिङदेनलाई पनि नवराजले आफ्नो समितिमा राखेका थिए । तर, उनले तत्कालै अस्वीकार गरे । आफूसँग सल्लाह नगरिकन नाम राखिएको भन्दै लिङदेनले आपत्ति जनाएका थिए । राप्रपा नेपालका अध्यक्ष थापाले पनि समितिमा बस्न मानेनन् ।

तर, राप्रपाभन्दा राप्रपा नेपाल नवराजको नेतृत्वप्रति उदार छ । थापाले आफू नबसे पनि उपाध्यक्ष तारानाथ लुईंटेललाई प्रतिनिधिका रुपमा समितिमा पठाएका छन् ।

नवराज नेतृत्वको निर्देशक समितिमा राप्रपाका कार्यसम्पादन समिति सदस्यहरु डा. प्रकाशचन्द्र लोहनी, पशुपति शम्शेर राणा, रवीन्द्र मिश्र र हरिबहादुर बस्नेत छन् । मिश्र सदस्य सचिव हुन् ।
राप्रपाका दुई पूर्वअध्यक्ष राणा र डा. लोहनी नवराजको समितिमा बस्ने नबस्नेमा दोधारमा थिए ।

आजको पत्रकार सम्मेलनमा डा. लोहनी उपस्थित भएनन् मात्रै मञ्चमा एक–अर्काको हात समाउन पुगे । यसबाट उनी अब नवराजको नेतृत्व स्वीकार्न मानसिकरुपमा तयार रहेको संकेत मिल्छ ।

अर्का वयोवृद्ध नेता राणा भने पत्रकार सम्मेलनमा गएनन् । यसअघि नवराजले बोलाएको भेलामा गएका उनी असन्तुष्ट बनेर फर्किएका थिए । उनले संयुक्त जनआन्दोलन समितिमा नबस्ने भनेर जानकारी गराएका छैनन् ।

यस्तै, महामन्त्री डा. धवलशम्शेर राणालाई आन्दोलन परिचालन समितिको संयोजकको महत्वपूर्ण भूमिका दिइएको छ । तर, उनको भूमिकालाई ‘माइनस’ गर्ने गरी आज फेरि हाउडे छविका व्यवसायी दुर्गा प्रसाईंलाई आन्दोलनको जनकमाण्डर घोषणा गरियो ।

दरबारकै इच्छाअनुसार प्रसाईंलाई जनकमाण्डर बनाइएको कतिपयले अनुमान गरेका छन् । उनले आज पत्रकार सम्मेलनको ठीक अगाडि निर्मल निवासमा पुगेर राजासँग लामो कुराकानी गरेकाले यो अड्कल लगाइएको हो ।

तर, स्रोतका अनुसार उनलाई जनकमाण्डर बनाउने निर्णय अगाडि नै भएको थियो । प्रसाईंकै निवासमा केही दिनअगाडि मोर्चाको बैठकसमेत बसेको थियो, जसमा नवराज सुबेदी, धवलशम्शेर राणा, रवीन्द्र मिश्र लगायत सहभागी थिए । प्रसाईंसँग भीड जम्मा गर्ने ताकत भएकाले विवादित छविका बाबजुद पनि उनलाई कमाण्डर बनाइएको स्रोतको भनाइ छ ।

भोलि दुर्गा प्रसाईंले आह्वान गरेको लाई नवराज सुबेदीले अपनत्व लिएपछि राप्रपालाई पनि दवाव परेको थियो । भोलि नै माओवादी नेतृत्वमा गणतन्त्रको पक्षमा जनप्रदर्शन हुने भएकाले यो सबै राजावादीको लागि प्रतिष्ठाको विषय पनि हो ।

त्यसैले राप्रपाले पनि अन्तिम क्षणमा यो यसलाई समर्थन र ऐक्यवद्धता जनाएको छ । यद्यपि, राप्रपा आफैंले आन्दोलन घोषणा गरिसकेकाले त्यसलाई न्यूनीकरण गर्ने गरी प्रसाईं नेतृत्वको जनप्रदर्शनमा मिसिन नहुने पक्षमा केही नेताहरु थिए ।

त्यसो त नवराजको मोर्चा र राप्रपाबीच केही नीतिगत अस्पष्टता देखिन्छ । नवराजले २०४७ सालको संविधानलाई आधार बनाएर नयाँ समझदारी गर्न गणतन्त्रवादी दलहरुसँग आह्वान गरिरहेका छन् । राप्रपाले भने अहिलेसम्म ०४७ सालको संविधान ब्यूँताउने कुरा गरेको छैन । राप्रपा वर्तमान संविधान स्वीकार गरेर नै अहिलेको प्रणालीमा समाहित भएको हो ।

राजसंस्था र हिन्दू राष्ट्रको पुनस्र्थापना एवं संघीयता खारेजीको मागसहित राजनीति गर्दै आए पनि ४७ सालको संविधान पुनर्जीवित गर्ने राप्रपाको घोषित एजेन्डा होइन । पार्टीको भन्दा फरक एजेन्डा बोकेको मोर्चामा राप्रपाकै जिम्मेवार नेताहरु सहभागी भएकोमा राप्रपाको संस्थापन पक्ष सन्तुष्ट देखिँदैन ।

भोलि हुने जनसभामा पनि राप्रपा अध्यक्ष लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापा वक्ताको रुपमा निम्त्याइएका छन् । तर, दुवै नेताहरु जाने÷नजाने निश्चित भएको छैन । सभामा जाँदा नवराजकै नेतृत्वको स्वीकार गरेको देखिने र नजाँदा राजावादीहरु एकजुट हुन नसकेको सन्देश जाने हुँदा उनीहरु दोधारमा परेका हुन् ।

नवराज नेतृत्वको आन्दोलन कति सशक्त र प्रभावकारी हुन्छ भन्ने ट्रेलर भोलि देखिने छ । यदि पूर्वराजाको स्वागतमा गरिएको जनप्रदर्शनजस्तै विशाल भयो भने यसले नवराज सुबेदी र दुर्गा प्रसाईं आगामी दिनमा बलिया बन्नेछन् । राप्रपालाई पनि नवराजसँग मिल्न दबाब पर्ने छ ।

यदि भोलिको आन्दोलन फितलो भयो भने राप्रपाले नै आन्दोलनको अगूवाइ गर्नुपर्ने हुनसक्छ । जे भए पनि राजावादीहरु सबै एक ठाउँमा नआइकन आन्दोलन निर्णायक बन्न सक्ने अवस्था भने रहँदैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर