तिलोत्तमा गोल्डकप प्रतियोगितामा चर्च ब्याईज युनाइटेड फाइनलमा प्रवेश


रूपन्देही । रुपन्देहीमा जारी २३ औँ संस्करणको तिलोत्तमा गोल्डकप प्रतियोगितामा चर्च ब्याईज युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।
बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमूर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगमा जारी प्रतियोगिता अन्तरगत विहीबार भएको दोस्रो सेमीफाइनल खेलमा मच्छिन्द्र एफसीलाई ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो ।
चर्च ब्याइजले अब उपाधिका लागि विभागीय टीम एपिएफ क्लबसँग शनिबार फाइनल खेल्नेछ ।देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलको पाच मिनेटमा नै मच्छिन्द्र १० खेलाडीमा सीमित भयो । मच्छिन्द्रका रोशन डोङले चर्चका अरमान बिउडोनलाई लडाए ।
वन भर्सेज वनमा डिबक्स नजिक गोलका लागि अगाडि बढेका अरमानलाई डोङले पछाडिबाट ट्याकल गरेर लडाएपछि रोशन डोङले रातो कार्ड पाउँदै मैदान छोडे । लगत्तै पाएको फ्रिकिकलाई रिचार्डले दिशा दिन सकेनन् । खेलको ३६ औ मिनेटमा चर्च ब्याईजका अरमान बिउडोनले गोल गर्दै खाता खोले ।
प्रवेश कुँवरको क्रसमा अरमान बिउडोनले हेडमार्फत जाली चुमाए । खेलको ४२ औँ मिनेटमा क्याप्टेन करिमा ओेमिलाजा नुरिनले चर्चका अरमान बिउडोनलाई डिबक्सभित्र लडाए । लगत्तै पाएको पेनाल्टीलाई अरमान बिउडोनले जाली चुमाए ।
खेलको ४४ औँ मिनेटमा राज भुषालको क्रसलाई अरमानले जाली चुमाउदै आफनो ह्याट्रिक पूरा गरे । खेलको ६५ औ मिनेटमा राज भुषालको कर्नरलाई क्याप्टेन फकुने अबयोमीले डिबक्सभित्रबाट आकर्षक गोल गरे ।
खेलको ७० औ मिनेटमा मच्छिन्द्रका फोडा फोफानालाई चर्चका अजित चौधरीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमार्फत गोलको अवसरलाई सदुपयोग गर्न सकेनन् । फोफानाको प्रहारलाई चर्चका गोलकिपर विवस चौधरीले रोकिदिए ।
लगत्तै दुई मिनेटको फरकमा डीबक्सभित्र पाएको पेनाल्टीमार्फत गोलको अवसरलाई मच्छिन्द्रले गुमायो । लक्ष्मण रुचालको पेनाल्टी प्रहार बारमा लागेर बाहिरियो । खेलको ८९ मिनेटमा वन भर्सेज वनमा मच्छिन्द्रका एलेक्स विलियमले चर्चका गोलकिपर अजित चौधरीलाई बिट गर्दै सान्त्वना गोल गरे ।
खेलमा चर्च ब्याईजका फकुने अबयोमी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैयाँ तथा विधागततर्फ उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाँबाट पुरस्कृत गरिने छ ।
यो वर्ष आयोजक करेन्ट रुपन्देही-११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरी आठ टीमको प्रतिस्प्रर्धा गरेका थिए ।