शुक्रवारका प्रदर्शनलक्षित सुरक्षा योजना- उच्च सतर्कता, सवारी आवागमनमा समस्या – Nepal Press

शुक्रवारका प्रदर्शनलक्षित सुरक्षा योजना- उच्च सतर्कता, सवारी आवागमनमा समस्या

काठमाडौं । शुक्रवार काठमाडौंमा हुने विभिन्न प्रदर्शनका क्रममा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउने भएको छ ।

पूर्वराजा पक्षीय दुर्गा प्रसाईँहरूले चक्रपथ भित्र प्रवेश नपाउने र समाजवादी मोर्चाका प्रदर्शनकारीले चक्रपथबाहिर निस्कन नपाउने गरी सुरक्षा योजना बनेको प्रहरी स्रोतले जनाएको छ ।

शुक्रवार राजसंस्था पक्षधरले कोटेश्वर र समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शनको आयोजना गरेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार उच्च सतर्कताका साथ सुरक्षा योजना बनाइएको छ । त्यसअन्तर्गत उपत्यकाका विभिन्न भागमा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।

नेपाल प्रहरीले रानीपोखरी र भद्रकाली क्षेत्रमा मात्रै ३ हजार जनशक्ति तैनाथ गर्दैछ । यसबाहेक काठमाडौंमा अवस्थित विभिन्न गण र गुल्मबाट थप ११ सय १६ प्रहरी जनशक्ति परिचालन गर्ने तयारी छ ।

प्रदर्शनका क्रममा काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने उपत्यका ट्राफिक प्रमुख एसएसपी विनोद घिमिरेले बताए ।

वैकल्पिक ट्राफिक व्यवस्थापन (डाइभर्सन)० का विषयमा शुक्रवार ११ बजेपछि योजना बनाइने भएको उनले बताए ।

दुबै किसिमका प्रदर्शनलाई दृष्टिगत गर्दै उपत्यकाका विभिन्न स्थानमा बिहान १० बजेबाटै सुरक्षा जनशक्ति परिचालन गरिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *