सधैँ रासायनिक मलको अभाव, खेती छाडेर मल खोज्दै किसान


विराटनगर । चैते धान र मकैमा रासायनिक मल हाल्न ढिला भइसक्दा पनि ठेकेदारले रासायनिक मल ल्याउन नसक्दा कोशी प्रदेशमा रासायनिक मलको चरम अभाव भएको छ ।
मल विक्री गर्ने कृषि कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले मल वितरण गर्न नसक्दा किसानहरू समस्यामा परेका छन् । नेपालमा कृषि कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले लएको रासायनिक मल सहकारी मार्फत बिक्री हुँदै आएको छ ।
मल नआएपछि मकैमा रासायनिक मल हाल्न नपाएको सुन्दरहरैचाका किसान बलदेव सुवेदीले बताए । उनले भने, खेतको काम छाडेर मल खोज्न हिँडेको हिँडे छु । मल पाइएन ।
रासायनिक मल नपाउँदा मकै वाली लगाएका कृषक मकै हुर्किदा समेत मल नपाएपछि उत्पादन घट्ने चिन्ताले चिन्तित छन् । यस्तै चैते धानमा समेत किसानले रासायनिक मल हाल्न पाएका छैनन् ।
नेपालमा रासायनिक मल नपाएपछि भारतबाट चोरी निकासी रासायनिक मल नेपाल आउने गरेको छ । यो वर्ष चोरी निकासीमा समेत मल नेपाल भित्राउन कडाइ भएको किसानहरूले बताएका छन् । यसै गरी भारतीय बजारमा नक्कली रासायनिक मल छ्यापाछ्यापी भएको किसानहरू बताउँछन् ।
सरकारले टेन्डर मार्फत माग गरेको रासायनिक मल समयमा भित्र्याउन नसक्दा मलको चरम अभाव भएको हो । कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरका कार्यालय प्रमुख नरेश सापकोटाले माग भए अनुसार रासायनिक मल दिन नसकिएको बताए ।
उनले गत वर्षको भन्दा युरियाको माग दोब्बर बढेकाले पनि माग अनुसार रासायनिक मल पुर्याउन नसकिएको बताए । सापकोटाले आर्थिक वर्ष २०८०र ०८१मा कृषि सामग्री लिमिटेडले कोशी प्रदेशमा १३ हजार ३ सय ४२ मेट्रिक टन युरिया बेचेको बताए ।
यस्तै आठ हजार ९२ मेट्रिक टन डीएपी र आठ सय एक मेट्रिक टन पोटास कृषि सामाग्री कम्पनीले बिक्री गरेको थियो ।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ११ हजार ५ सय २३ मेट्रिक टन युरिया, ७ सय ५२ मेट्रिक टन डीएपी र पाँच सय ९१ मेट्रिक टन पोटास बिक्री गरिसकेको छ ।
गत वर्षकै हाराहारीमा रासायनिक मल विक्री गर्दा पनि मलको माग अझै रहेकाले समस्या भएको सापकोटाले बताए । उनले भने– युरियाको माग दोब्बर बढेको छ । आठ महिनाको अवधिमा नै हामीले युरिया गत वर्ष भन्दा एक सय ८१ मेट्रिक टन बढी बिक्री गरी सकेका छौँ । तर, माग पु¥याउन सकिएको छैन ।
साल्ट ट्रेडिङ कम्पनी लिमिटेड विराटनगरले पनि रासायनिक मल पुर्याउन सकेको छैन । कार्यालयका प्रमुख राधेश्याम चौधरीले कम्पनीले यो वर्ष ७७ हजार ४० बोरा डीएपी, ८५ हजार ९ सय ४५ बोरा युरिया र २२ हजार २ सय ५२ बोरा पोटास बिक्री गरेको बताए । उनले भने, ‘हामीले हामीसँग रहको मल बेचिसक्यौ अरू मल आउँदै छ । आएपछि बेच्छौ ।’
उनले चैत्रको तेस्रो साता सम्ममा ५५ हजार मेट्रिक टन रासायनिक मल आइपुग्ने दाबी गरे । यस्तै कृषि सामग्री कम्पनीले ७५ हजार मेट्रिक टन रासायनिक मल ल्याउने दाबी गरेको छ ।