जसलाई सहकारीले उद्यमी बनायो

तीन दशकअघि मलिका श्रेष्ठले यो उचाइमा पुग्छु भन्ने सोचेकी समेत थिइनन् । त्यो बेला काठमाडौं सितापाइलाकी श्रेष्ठ सामान्य गृहिणीको भूमिकामा गुजारा चलाइरहेकी थिइन् ।
सानैदेखि सिलाइ कटाइमा रुची भएपनि उनले त्यो पुरा गर्न सकेकी थिइनन् । सानोमा सिलाइ सम्बन्धी सिप अलिअलि मात्रै सिकेकी थिइन् । तर, पोख्त भने थिइनन् । उनी सिप सिकेर केही गर्छु भन्थिन तर सिक्ने अवसर पाइरहेकी थिइनन् ।
विन नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड केही सिप भएकालाई एडभान्ससम्बन्धी तालिम खुलाएको थियो । उनले सो तालिममा भाग लिइन् ।त्यहाँ सिकेको सिप नै उनको जीवनको ‘टर्निङ पोइन्ट’ बन्यो । उनले सिप सिकिन् र सिकेको सिपलाई व्यवसायकारुपमा अगाडी बढाउन थालिन् ।
‘सिलाइको काम गर्ने रुची धेरै नै थियो । सानोमा अलिअलि सिकेको पनि थिए । सहकारीले एडभान्स भनेर तीन महिने तालिम दियो । तालिम लिए र त्यसलाई व्यवसायमा परिणत गरे’, उनले ती दिन सम्झिँदै सुनाइन् ।
त्यो बेला एक हजार ५ सय रुपैयाँ लगानी गरिन् । न्यूरोडमा रहेको आफ्नै घरमा उनले सिलाइको काम शुरु गरिन् । शुरुमा उनले महिलाहरूले लगाउने गाउन सिलाइन् । बिक्रीका लागि अन्य पसलहरूमा दिइन् । तर, खासै बिक्री भएन । हार मानिन्, निरन्तर लागिरहिन् ।

नेपाली बजारमा बिक्री नभएपनि उनको उत्पादन अमेरिका भने पुग्यो । अमेरिका बस्ने एक नेपालीले उनको उत्पादन अमेरिका निर्यात गर्ने भन्दै इस्टकोट सय पिसको अर्डर दिए । त्यसपछि उनको अमेरिका निरन्तर निर्यात हुन थाल्यो र पछि अष्ट्रेलियामा पनि निर्यात हुन थाल्यो ।
विस्तारै आफ्ना उत्पादनले बजार पाउन थालेपछि उनले क्राफ्ट प्यालेस प्राइभेट लिमिटेड नामक उद्योग खोलिन् । सन् १९९१ देखि उद्योग चलाइरहेकी श्रेष्ठले अहिले वार्षिक २५ लाख माथिको कारोबार गर्छिन् । उनले १२ जनालाई रोजगारी दिएकी छिन् ।
उक्त सहकारीले बजारीकरणमा सहयोग गरेका कारण आफ्नो उद्यमीको यात्रा यहाँसम्म आइपुगेको उनले सुनाइन् । ‘अमेरिकाको अर्डर पुरा गर्न नपाउँदै अष्ट्रेलियाको अर्डर आयो । बजारीकरणमा सहकारीले धेरै नै सहयोग गरेको छ । म यहाँसम्म आइपुग्नुमा पनि सहकारीकै हात छ’, उनले भनिन् ।
उनी अहिले सेमिनार ब्याग, होटल व्यवसायीहरूका लागि बेड कभर, बेडसिट, कुसन, पर्दा, मास्कलगायत अर्डर अनुसार विभिन्न उत्पादन गर्छिन् । उनका उत्पादन नेपाली बजारसंगै अमेरिका, अष्ट्रेलिया, भारत, फ्रान्स, जापान लगायतमा निर्यात हुने गरेको छ । उनले उत्पादन गर्ने वस्तुहरूको कच्चा पदार्थ पनि नेपालकै प्रयोग गर्छिन् ।
सहकारीले आफूलाई उद्यमीको परिचय दिएकोमा उनी हर्षित छिन् । श्रेष्ठ भन्छिन्, ‘आफ्नो मेहनत र लगनशीलता त छदैँछ । तर, यहाँसम्म ल्याउनका लागि सहकारीको ठूलो हात छ । सहकारीले सिप सिक्ने अवसर नदिएको भए म यहाँसम्म आइपुग्दिन थिए होला’, उनले भनिन् ।
उनी विन नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको निवर्तमान अध्यक्ष पनि हुन् । नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंको अध्यक्ष समेत रहेकी उनी नेपाल हस्तकला महासंघकी उपाध्यक्ष समेत हुन् ।
०००
काठमाडौंको धोविघाट निवासी हजुरी विष्ट अचार उद्यमी हुन् । उनी पनि यो व्यवसायका लागेको लामो समय भइसक्यो । जसलाई उद्यमीको परिचय विन नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले दिएको हो ।
यस सहकारी संस्थासँगको सहकार्यमा महिला उद्यमी संघले अचार बनाउने तालिम दिएको थियो । २१ दिनसम्म चलेको तालिमबाट उनले अचार बनाउने सिप सिकिन् । तीन वर्षसम्म घरकै किचनमा अचार बनाएर आफूलाई पोख्त बनाइन् र पछि व्यवसायीकरुपमा अगाडी बढिन् ।
उनका अनुसार विष्टले वि.सं २०६८ सालमा हजुरी खाद्य उद्योग दर्ता गरिन् । उक्त उद्योगबाट उनले विभिन्न स्वादको अचार बनाउन थालिन् । बिक्रीका लागि पनि उनलाई सहकारीले नै सहयोग गरिदियो ।
६ वर्षयतादेखि भने उनले आफ्नै ब्रान्ड किचेन रेसिपी स्थापना गरेर बिक्री वितरण गर्दै आएकी छिन् । उनको यो व्यवसायमा अहिले छोराछोरी र ज्वाइँ पनि जोडिएका छन् । छोरीज्वाइको सल्लाहमा उनले अचार घर नाम दिएर रेस्टुरेन्ट खोलेकी छिन् ।
उनले २०७४ मा अचार रेस्टुरेन्ट खोलेकी हुन् । काठमाडौंको कमलपोखरी, कुपण्डोल, भैसेपाटीमा ‘अचार घर’ रेस्टुरेन्ट खोलेकी छिन् । जहाँ किचेन रेसिपीका अचारसँगै नेपाली मौलिक खानेकुरा पाइन्छन् ।
अचार व्यवसायमा पाएको सफलताकै कारण उनका परिवार पनि यसमै जोडिएको सुनाउँदै हजुरी भन्छिन्, ‘म आफूलाई सफल अचार उद्यमीका लिन्छु । मैले खडा गरेको यो व्यवसायले मेरा छोराछोरी विदेश पलायन हुनु परेन । मैले मेरा छोराछोरीलाई यही व्यवसायमा लगाउन सकेँ ।’

उनले विभिन्न ४५ भन्दा बढी स्वादका अचार तयार गर्छिन् । उनको तयार गरेको अचार नेपाली बजारसङै अन्तर्राष्ट्रिय बजारमा समेत पुग्छ । उनले बनाएको अचार अमेरिका, अस्ट्रेलिया, बेलायत, दुबईमा निर्यात हुने गरेको छ ।
उनले तयार गरेको अचार एक सय ५० रुपैयाँदेखि एक हजार रुपैयाँसम्मका छन् । वार्षिकरुपमा उनले अचार बेचेर ६० लाख आम्दानी गर्छिन् । अचार बनाउनका लागि उनले करिब २५ जना गृहिणी महिलाहरूलाई रोजगारी समेत दिएकी छिन् ।
महिलाहरूलाई उद्यमी बन्नका लागि चुनौतीसँगै अवसरहरू पनि पर्याप्त रहेको उनको अनुभव छ । नयाँ उद्यमी बन्न चाहानेहरुलाई सुझाव दिँदै उनी भन्छिन्, ‘महिलाहरू उद्यमी बन्नका लागि आफैमा एउटा चुनौती छ । आफू उद्यमी बन्नका लागि घरदेखि नै संघर्ष गर्नुपर्छ । तर, दृढ संकल्प लिएर अगाडी बढ्ने हो भने नसक्ने भन्ने केही छैन ।’
०००
काठमाडौंकी शर्मिला ताम्राकारको ३० वर्षअघि र अहिलेको परिचय फेरिएको छ । पारिवारिक गुजारा चलाउनका लागि सामान्य सिलाइ कटाइको काम गर्दै आएकी उनी अहिले सिल्भर ज्वलरी उद्यमी बनेकी छिन् ।
ताम्राकार सिल्भर ज्वलरीको काम गर्छिन् । उनले गरेका उत्पादनहरू विन नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बिक्री वितरणका लागि सहयोग गर्ने गरेको छ । उनले गरेका उत्पादन सहकारीले बजारीकरण गरिदिएका कारण उनलाई यस व्यवसायमा टेवा पुगेको छ ।
यदि सहकारीले बजारीकरण नगरिदिएको भए आफू यहाँसम्म आइनपुग्ने उनी सुनाउँछिन् । ‘उत्पादन गरेका वस्तुहरू बजार पाउन समस्या भइरहेको थियो । सामान बिक्री गर्न सकिरहेको थिइन’, उनले भनिन्, ‘बजारीकरणका लागि सहकारीमा जोडिए । त्यसपछि मेरो उत्पादन नेपालमा मात्रै होइन विदेश निर्यात हुन थाल्यो ।’
पाँच सय रुपैयाँ लगानी गरेर ज्वलरीका सामानहरू उत्पादन गर्न थालिन् । उनले गरेका उत्पादनले बजार पाउन मुस्किल पर्यो । जसको बिक्रीका लागि उनले सहकारीको साहारा लिइन् । जसले उनलाई ज्वलरी उद्यममा तीन दशकको यात्रा पार गर्न मद्दत पुर्यायो ।
विशेषगरि उनले उत्पादन गरेका वस्तुहरू अमेरिका, क्यानडा र फ्रान्स निर्यात हुने गर्छ । यसका साथै उनले नेपाली बजारमा पनि बिक्री हुने गरेको छ । ‘अर्डर अनुसार बनाएर बिक्री गर्छु । यसबाहेक हायात प्यालेसलाई पनि मैले बनाएका ज्वलरी दिने गर्छु’, ताम्राकार भन्छिन् ।

माथी उल्लेखित उद्यमीहरू प्रतिनिधि मात्रै हुन् । उनीहरू जस्तै सयौँ महिलाहरूलाई ललितपुरको लगनखेलमा रहेको विन नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले उद्यमी बनाइसकेको छ ।
संस्था सानो भएपनि काम भने राम्रो गरेको उक्त सहकारीकी अध्यक्ष रत्नेश्वरी कुमारी गोर्खाली श्रेष्ठ दाबी गर्छिन् । ‘हामी महिलाहरूलाई उद्यमी बनाउनका लागि विशेष केन्द्रित छौँ । उनीहरूलाई सिप मात्रै सिकाउँदैनौँ । सिकाएको सिपबाट गरेको उत्पादनको समेत बजारीकरण गरिदिने काम गर्दछौँ’, उनले भनिन् ।
अध्यक्ष श्रेष्ठका अनुसार उक्त सहकारी स्थापना भएको करिब ३५ वर्ष भइसक्यो । हाल सहकारीमा तीन सय बढी सदस्य रहेका छन् । यसले महिला उद्यमीहरूलाई आर्थिक गतिविधिहरू मार्फत व्यवसायको मूल्य शृङ्खलामा संलग्न गराएर समर्थन गर्दछ । यसले हस्तकला र खाद्य उत्पादनहरू स्थानीय र अन्तर्राष्ट्रिय रूपमा बजारीकरण गर्दै आएको छ ।

कच्चा पदार्थ खरिदका लागि लगानी आवश्यक परेमा पनि यस सहकारीले ऋण दिँदै आएको छ । अध्यक्ष श्रेष्ठ भन्छिन्, ‘हामीले कच्चा पदार्थ खरिदका लागि ऋण समेत दिने गरेका छौँ । त्यो पनि बिना धितो जमानीका आधारमा एक लाख रुपैयाँसम्म ऋण दिने गरेका छौँ ।’
यस सहकारीले एकल महिलाहरूलाई समेत विभिन्न तालिम दिएर उनीहरूको लागि आवश्यक पर्ने मेसिन समेत सहयोग गरिदिने गरेको उनले जानकारी दिइन् ।
‘गरिखानेहरूलाई हामीले सिप सिकाइदिन्छौँ । लगानी गरिदिन्छौँ । उत्पादनले बजार पाएन भने बजारीकरण समेत गरिदिन्छौँ’, उनले भनिन्, ‘हाम्रो संस्था अरू सहकारीजस्तो पैसा खेलाउने होइन । काम गरेर गरिखान चाहानेहरुका लागि हो ।’
सहकारी संस्थाहरु ठूलो बनाउनेभन्दा पनि सानै भएर राम्रो काम गर्दै समुदायमा केन्द्रित भएर उत्पादनमा जोडिनु पर्ने उनको सुझाव छ ।
असल अभ्यास गरिरहेका अन्य सहकारीसम्बन्धी समाचारहरुः–
- २५ सहकारी एकीकरण गरेको किसानस् ९२ हजार सदस्यको सारथि
- महिलाले हाँकेको ‘महारानीझोडा सहकारी’- वडामा काम, देशभर नाम
- जागिरको विकल्प खोज्दा जन्मिएको पोखरा रोयल सहकारी
- जनसचेतन सहकारी संस्था– जसले ज्येष्ठ सदस्यहरूलाई दिन्छ आजीवन सहारा भत्ता
नोट: केही वर्षयतादेखि सहकारी क्षेत्र संघर्षपूर्ण अवस्थामा छ । सडकदेखि सदनसम्म सहकारी क्षेत्र चर्चामा छ । सहकारीविरुद्ध सडक आन्दोलनदेखि अब चाहिँदैन भन्दै विरोधसम्म भइरहेको छ । समुदायसँग जोडिएको सहकारीका केही बदमासीका कारण यस क्षेत्रको सबल पक्ष ओझेलमा परेको छ । त्यसैलाई मध्यनजर गर्दै नेपाल प्रेसले समुदायका बीच असल अभ्यास गरिरहेका सहकारीबारे जानकारीको श्रृङ्खला प्रस्तुत गरेको हो ।