बुटवलमा अन्तर्राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिताको तयारी


रुपन्देही । रुपन्देहीमा अन्तर्राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिताको तयारी गरिएको छ । प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ चैत २३ गतेदेखि सुरु हुने भएको छ ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक बिस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापाले शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।
प्रतियोगितामा भाग लिने नेपाल तथा भारतीय आठ टीमको टुंगो लागेको उनले बताए । दर्शकलाई सहजताका लागि अस्थायी प्याराफिट निर्माण गरिएको तथा टिकटको व्यवस्था गरिएको उनले बताए । प्रतियोगितामा राष्ट्रिय टीमका खेलाडीहरू विभिन्न टीमबाट खेल्ने उनले बताए ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) ले फुटबलको उर्वरभूमिका रूपमा पहिचान बनाएको रुपन्देहीमा पछिल्लो समय महिला फुटबलको आकर्षण रहेको बताए ।
कार्यक्रममा संयोजक बुद्धिबहादुर दर्जीले प्रतियोगिताको उपाधि विजेता टीमले नगद १ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टीमलाई नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए ।
यसै गरी विधागत रूपमा सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँसहित कप तथा ४ जना उत्कृष्ट खेलाडीहरूलाई नगद १० हजारसहित कपबाट पुरस्कृत गरिने उनले बताए ।
प्रतियोगितामा आयोजक बिसपचहत्तर युवा परिवार, सुनवल नगरपालिका, वीरगन्ज युथ एकेडेमी, वसन्त युनाइटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राईजिङ स्टार युवा क्लब कपिलवस्तु, वालिङ, एमएससी भारतको टीमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने उनले बताए ।
चैत २३ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।
बिस पचहत्तर युवा परिवारको आयोजना, एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक, बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा सिद्धेश्वरी लालकुमारी मावि खेलमैदानमा हुने प्रतियोगिताको लागि दुई महिनादेखि मैदान मर्मत चलिरहेको छ ।