तीन राजा र हालका राष्ट्रपति एउटै फ्रेममा, अनिल शाहले सेयर गरे ‘ऐतिहासिक’ तस्बिर
शाह भन्छन्: राजतन्त्र, गणतन्त्र जे भए पनि हाम्रो सनातन धर्म चाहिँ हुनुपर्यो


काठमाडौं । राजावादी र गणतन्त्रवादीले एकै पटक काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेकै दिन एउटा ‘ऐतिहासिक’ तस्बिर सामाजिक सञ्जालमा देखा परेको छ । तस्बिरमा नेपालका तीन पूर्वराजा तथा वर्तमान राष्ट्रपति एउटै फ्रेममा अटाएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह तथा दिवंगत राजाहरू वीरेन्द्र र दीपेन्द्र सहित यो तस्बिरमा राष्ट्रपति रामचन्द्र पौडेल पनि देखिन्छन् । यो तस्बिर भने वीरेन्द्र राजा हुँदाखेरिको हो, जतिबेला दीपेन्द्र युवराज थिए भने ज्ञानेन्द्र अधिराजकुमार ।
यो तस्बिर प्रजातन्त्रकालमा महेन्द्र संस्कृति संरक्षण कोषले आयोजना गरेको एक कार्यक्रमको उद्घाटन समारोहको हो । अधिराज कुमार ज्ञानेन्द्र उक्त कोषका अध्यक्ष थिए । कार्यक्रममा राजा वीरेन्द्रलाई प्रमुख अतिथिका रूपमा आमन्त्रित गरिएको थियो । रानी ऐश्वर्या र युवराज दीपेन्द्रको पनि समुपस्थिति रहेको कार्यक्रममा त्यसबेला सम्भवतः वातावरण मन्त्रीको हैसियतमा रामचन्द्र पौडेलले भाग लिएका हुन् ।
तस्बिरमा राजा वीरेन्द्रले पानसमा बत्ती बालेर उद्घाटन गरिरहेको तथा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रले नजिकै बसेर ताली बजाएको देखिन्छ । रामचन्द्रले अलि पछाडि उभिएर ताली बजाएका छन् भने युवराज दीपेन्द्र पनि उभिएका छन् ।
राजा वीरेन्द्र, युवराज ज्ञानेन्द्र र अधिराजकुमार ज्ञानेन्द्र एउटै तस्बिरमा अटाउनु आश्चर्यको विषय होइन, किनकि उनीहरू एकै परिवारका सदस्य हुन् । तर, संयोगले हालका राष्ट्रपति पौडेल पनि अटाएकाले यो तस्बिर ऐतिहासिक बन्न गएको हो ।
यो तस्बिर हाल राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध रहेका पूर्वबैंकर अनिलकेशरी शाहले आज फेसबुकमा सेयर गरेका हुन् । तस्बिरको सन्दर्भ भने उनले खुलाएका छैनन् ।
साहले क्याप्सनमा लेखेका छन्, ‘तीन राजा र एक राष्ट्रपति एउटै फ्रेममा… त्यो विगत थियो, अब हेरौँ हाम्रो रातो र चन्द्र सूर्यप्रति गर्व गर्ने हामी सबै नेपालीका लागि आज भविष्यले के ल्याउँछ । जस्तोसुकै अवस्था आए पनि नेपाली हुनुमा सधैँ सम्मानित र हाम्रो मातृभूमि नेपालमा जन्मन पाउनुमा सौभाग्यशाली ठान्छौँ !’
नेपाल प्रेससँग कुरा गर्दै साहले यो तस्बिर आफूले खिचेको नभएर इन्टरनेटमा भेटेको बताए ।
उनले भने, ‘युट्युबमा एउटा भिडिओ हेर्दै गर्दा यो दृश्यमा अडिएँ । रोचक लागेर मैले स्क्रिनसट गरेर राखेको थिएँ । आज सान्दर्भिक हुन सक्छ भनेर पोस्ट गरेको हुँ ।’
आज राजसंस्था र गणतन्त्रको पक्षमा भइरहेका दुई प्रदर्शनमध्ये तपाईँको समर्थन कतापट्टि भन्ने प्रश्नमा उनले कूटनीतिक जवाफ दिए ।
‘म यो पक्ष उ पक्ष भन्दा पनि सबै कुरा जनताको हातमा छ । फेरि जनतामा नै जाऊँ, जनतालाई सोधौँ । जनमतसंग्रह गर्न सकिहालियो । यही जनताले शक्तिशाली राणा शासन उल्टाए । यही जनताले पञ्चायतकाल भत्काएर बहुदलीय प्रजातन्त्र ल्याए । त्यसपछि फेरि राजतन्त्र उखेलेर गणतन्त्र स्थापना गरेको पनि जनताले नै हो । यो सबै गर्न सक्ने जनताले अहिलेको व्यवस्था चाहिँ उल्टाउन सक्दैनन् भन्ने होइन ।
नेताहरूले हामी सधैँलाई हो भनेर कहिल्यै नसोच्दा हुन्छ । जनताको हित गर्ने हो कसैले छुन सक्दैन । तर भएन भने जनताले सधैँ साथ दिइराख्छन् भन्ने भ्रममा नबसौँ,’ उनले भने ।
राजाको विषयमा द्विविधा भए पनि हिन्दू राष्ट्रको बारेमा आफू प्रष्ट रहेको उनको भनाइ छ । ‘सनातन राष्ट्र त हुनुपर्छ । सनातन राजतन्त्र होस, सनातन गणतन्त्र होस, जेसुकै भए पनि हाम्रो धर्म चाहिँ हुनुपर्यो,’ उनले भने ।
राजासँग राम्रो टिम छ वा छैन भन्नेमा उनलाई सन्देह रहेछ । साह भन्छन्, ‘मैले बैंक चलाउँदाखेरि एक्लै चलाउँछु भन्ने कहिल्यै लागेन । एउटा राम्रो टिम ल्याएर चलाउँछु भन्ने थियो । टीमवर्कबाटै सफल भएको हुँ । त्यही भएर अहिले मलाई राजाको वरिपरिको टिम कस्तो छ भन्ने थाहा छैन । टीम राम्रो भएन भने कसैले केही गर्न सक्दैन ।’
Congratulations to all newly elected leaders