नेपाल आउने कोरियाली पर्यटकको संख्या ५० हजार पुर्याउन सकिन्छ : राजदूत पार्क


काठमाडौं । नेपाल आउने कोरियाली पर्यटकको संख्या वर्षेनी ५० हजार पुर्याउने लक्ष्य राखिएको छ । कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान) ले अहिलेको २७ हजार संख्या बढाएर ५० हजार पुर्याउने लक्ष्य राखेको हो ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार कोरियाबाट नेपाल आउने पर्यटक हाल वार्षिक रूपमा २७ हजार छन् । नेपालमा पर्यटक आउने प्रमुख १० गन्तव्य मुलुकमा कोरिया पनि पर्छ ।
कोटानको आठौँ वार्षिकोत्सवको अवसरमा कोरियाली राजदूत ताइँ योङ पार्कले पर्याप्त सम्भावनाहरू भए पनि प्रचारप्रसारलाई थप विस्तार गर्ने हो भने वार्षिक कोरियाली पर्यटकको संख्या ५० हजार पुग्ने बताए । राजदूत पार्कले कोरियामा प्रत्येक साता ५० लाखले पहाडमा पदयात्रा गर्ने भएकाले ती मध्ये दुई प्रतिशत मात्र नेपाल आउने हो भने पनि उक्त संख्या पुग्ने बताए ।
सो अवसरमा कोटानका अध्यक्ष अमरबहादुर शाहीले कोरियाको वातावरण , नेपालको पर्यटकीय प्रचुर सम्भावनालाई नेपाल पर्यटन बोर्ड र सरकारी निकायहरूले थप पहल गर्नुपर्ने बताए ।
गत वर्ष नेपाल र कोरिया कूटनैतिक सम्बन्ध कायम भएको ५० वर्षको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको कोटानका कोषाध्यक्ष ङावा ङिमा शेर्पाले बताए ।
कोरियाली पर्यटकको सम्भावना बढी भएकाले हवाई मार्ग विस्तारदेखि भाडा दर सन्तुलनसमेतलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने शेर्पाले बताए ।
कोटानले बिहीबार काठमाडौँमा पर्यटन क्षेत्रसँग सम्बन्धित सङ्घ संस्थाको सहभागिता वार्षिकोत्सव मनाएको हो ।