राजावादीमाथि बल प्रयोगकाे आदेश, अत्याधुनिक हतियारसहित पुग्याे सशस्त्र प्रहरी
दुर्गा प्रसाईं आएपछि घेरा तोड्ने आन्दोलनकारीको दाबी


काठमाडौं । राजसंस्था पक्षधरहरुको जुलुसले तीनकुनेमा प्रहरीको पहिलो घेरा तोड्ने प्रयास गरिरहँदा मुठभेडको सम्भावना बढेको छ । उक्त घेरा तोडेमा बल प्रयोगको प्रहरीले तयारी गरेको स्रोतले बतायो ।
त्यहाँ काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराको कमान्डमा प्रहरी खटिएको छ । आन्दोलनकारीले पहिलो घेरा तोडेमा दोस्रो घेराले बल प्रयोग गर्ने योजना बनेको हो ।
डीएसपी निर्मल पनेरू नेतृत्वको दोस्रो घेरा अहिले शान्तिनगर गेटदेखि मीनभवनस्थित सिभिल अस्पताल क्षेत्रलाई नियन्त्रणमा लिएर तैनाथ छ । उक्त टोलीले लाठीचार्जदेखि अँश्रुग्यास प्रहार गर्नेसम्मको आदेश पाएको प्रहरी स्रोतले जनाएको छ ।
पहिलो घेरा ताेडेमा लाठीचार्ज गर्ने प्रहरीको तयारी छ । दोस्रो चरणमा पानीको फोहोरा फ्याँकिने प्रहरी स्रोतले जनायो । पानीको फोहोराले पनि भिड नियन्त्रणमा नआए अँश्रुग्यास प्रहार गरिनेछ ।
प्रहरीलाई मद्दत गर्न सशस्त्र प्रहरीको एक टुकडी नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आसपास तैनाथ छ । उक्त टोली अत्याधुनिक हतियारसहित पुगेको छ ।
अहिले तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भइरहेको छ । आन्दोलनकारी बानेश्वरतिर जान खोजे पनि निर्णायक प्रयास गरेका छैनन् । उनीहरु दुर्गा प्रसाईंको प्रतीक्षामा छन् । प्रसाईं ठूलै जुलुस लिएर आउन लागेको र उनी आएपछि प्रहरीको घेरा तोड्ने आन्दोलनकारीको दाबी छ ।