बुद्धको शान्ति, करुणा र शिक्षाको सान्दर्भिकता झन् बढ्यो : पूर्वराष्ट्रपति भण्डारी


रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनी पुगेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धको शान्ति, करुणा र शिक्षाको सान्दर्भिकता झन् बढेको बताएकी छन् ।
गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार प्रसार गरी नेपालले शान्ति दूतको भूमिका निर्वाह गर्नसक्ने उनको भनाइ छ ।
आज लुम्बिनी विकास कोष क्षेत्रभित्र थुक्छे छोइलिङ मोनास्ट्री (गुम्बा)को शिलान्यास गर्दै पूर्वराष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा र शिक्षाको महत्त्व अहिलेको समयमा झनै बढेको बताएकी हुन् । उनी हिजो बिहीबारदेखि रुपन्देहीमा छन् ।
‘गौतमबुद्धले अहिंसा, करुणा र शान्तिको मार्ग देखाउनुभयो, उहाँका शिक्षाले संसारभर करोडौं मानिसलाई प्रेरित गरेको छ । आज पनि कतिपय विकसित र शक्तिशाली देशहरूबीचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘त्यसैले बुद्धका शान्ति, करुणा र शिक्षाको सान्दर्भिकता आजको दिनमा झन् बढेको छ ।’
लुम्बिनी बौद्ध दर्शनको उद्गम स्थल भएको उल्लेख गर्दै उनले बौद्ध शिक्षा तथा दर्शनलाई अन्तर्राष्ट्रिय रूपमा विकास गर्नुपर्ने धारणा राखिन् ।
बुद्धका उपदेशहरू विश्वभर फैलाउने माध्यमका रूपमा लुम्बिनीको महत्त्वपूर्ण भूमिका रहने बताउँदै उनले बौद्ध सम्पदाको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।
पूर्वराष्ट्रपति भण्डारी तीन दिन रुपन्देहीमा बस्ने गरी बिहीबार भैरहवा आएकी थिइन् । भण्डारी भोलि शनिबार लुम्बिनी प्रदेशभरका स्थानीय र प्रदेशका महिला जनप्रतिनिधि सहभागी हुने कार्यक्रममा सहभागी हुँदैछिन् । भण्डारी १७ चैतमा काठमाडौं फर्कने छन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री आचार्यको स्वागत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई लुम्बिनीमा स्वागत गरेका छन् । थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्न लुम्बिनी आएकी पूर्व राष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री आचार्यले स्वागत गरेका हुन् ।
लुम्बिनी परिसरभित्र आयोजित विशेष कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले गुम्बाको शिलान्यास गरेकी हुन् ।
थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बा धर्मचक्र महाविहार मञ्जुश्री पर्वत, कान्तिपुरको आयोजनामा निर्माण हुन लागेको हो ।
उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरू, लुम्बिनी प्रदेशका मन्त्रीहरू, बौद्ध धर्मावलम्बीहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ ।
गुम्बा निर्माणले लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्व अभिवृद्धि गर्दै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।