आगजनी,तोडफोड र हतियार खोस्ने घटनामा पूर्व राजालाई जिम्मेवार बनाउने सरकारको तयारी – Nepal Press

आगजनी,तोडफोड र हतियार खोस्ने घटनामा पूर्व राजालाई जिम्मेवार बनाउने सरकारको तयारी

काठमाडौं । सरकारले आज काठमाडौंको तीनकुने क्षेत्रमा भएको निजी सम्पत्ति तोडफोड र सर्वसाधारणको घरमा आगजनी जस्ता अपराधिक घटनामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार ठहर गरेको छ ।

तोडफोड र आगजनीको प्रारम्भिक जानकारीपछि उच्च सरकारी अधिकारीहरुले राजनीतिक तहमा तत्काल ब्रिफिङ गरेका छन् । सरकारले आगजनी,तोडफोड र निजी तथा सरकारी सम्पत्ति नोक्सानीको जिम्मेवार पूर्व राजालाई बनाउने भएको छ ।

घटनाबारे जानकारी लिएका एक मन्त्रीले भने–आन्दोलन गर्न आऊ भनेर उक्साउने र हिजोमात्र निर्मल निवासमा नवराज सुवेदी तथा दुर्गा प्रसाईलाई बोलाएर निर्देशन दिने ज्ञानेन्द्र शाह नै हुन् भन्ने दुनियालाई थाहा छ । आज व्यक्तिगत सम्पत्तिको आगजनी,लुटपाट,प्रहरी सुरक्षाकर्मीमाथिको आक्रमण तथा हतियार खोस्नेजस्तो जघन्य अपराधका घटनाको जिम्मेवार ज्ञानेन्द्र शाह हुन् ।

सरकारले सम्भवतः राजनीतिक दलहरुसँग समेत छलफल गरेर उनलाई कानूनी कारवाहीको दायरमा उभ्याउनेछ । उनका मतियारहरु दुर्गा प्रसाईदेखि जो जो छन् उनीहरु सबैलाई कानूनी दायरमा ल्याउन सरकारमाथि नागरिक दबाब बढेको छ,केही निर्णय तत्कालै होला ।

प्रहरीले तीनकुने बानेश्वर क्षेत्रमा भएका आगजनी,लुटपाट,तोडफोड र प्रहरीमाथि भएका आक्रमणका सबै भिडिओहरु संकलन गरिरहेको छ । सीसीटिभी फुटेजहरु समेत संकलन गरेर आजको घटनामा संलग्न सबै व्यक्तिको पहिचान गरिने प्रहरीले जनाएको छ ।

राजावादी प्रदर्शनकारीले सो क्षेत्रका निजी तथा सरकारी कार्यालयमा आक्रमण गरेको र अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाको कार्यालयमा समेत ढुंगा हानेको प्रहरीले जनाएको छ ।

दुर्गा प्रसाई र उनको जमातले तीनकुने क्षेत्रमा अराजकता मच्चाएको प्रारम्भिक रिपोर्ट छ । राजावादी भनेर चिनिएका राप्रपाका अधिकांश शीर्ष नेता आजको प्रदर्शनमा देखिएनन् । उनीहरुले अघिल्लै दिन अराजकताको संकेत पाएकाले नगएको दावी राप्रपाका एक नेताले गरे ।

प्रसाईले अराजकता मच्चाएर गोली हान्ने अवस्था ल्याउने र त्यसपछि कांग्रेस,एमाले र माओवादीका नेताहरुको घर घरमा जाने चेतावनी दिएपछि राप्रपा नेताहरु हच्किएका हुन् ।

यसैबीच काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले तोडफोड,आगजनी र हिंसात्मक घटना गराउने व्यक्तिमात्र नभएर आयोजक र तीनका नेताहरुलाई पनि कारवाहीको दायरमा ल्याइने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर