औरहीमा दलितको घरमा डोजर चलाउने गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा


जनकपुरधाम । महायज्ञको नाममा दलित डोम परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव धरौटीमा रिहा भएका छन् ।
सिरहा जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको इजलासले आज गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई जनही एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि धरौटी बुझाएर ८ दिनपछि उनीहरु रिहा भएका हुन् ।
महायज्ञको नाममा आफ्नो घर भत्काएर उठिबास लगाएको भन्दै औरही गाउँपालिका- ५ का दीपक मल्लिकले गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरंगी बाबाविरुद्ध जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा जाहेरी दिएका थिए ।
गत शुक्रबार पक्राउ परेका गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटी बुझाएर रिहा भए पनि बजरंगी बाबा फरार छन् । धनुषाको सबैलाका बजरंगी बाबा महायज्ञस्थलबाट सम्पर्कविहीन भएकाले पक्राउ पर्न नसकेको र खोजी भइरहेको प्रहरीको भनाइ छ ।
औरही– ५ मा श्री श्री १००८ श्री विष्णु महायज्ञ यही चैत १७ गतेबाट सुरु हुँदैछ । महायज्ञकै लागि अछूत भन्दै गत फागुन १० मा बाबाको निर्देशनमा गाउँपालिका अध्यक्षले जेसीबी लगाएर दीपकको घर भत्काएका थिए । घर भत्काउन पूर्ववडाध्यक्षले समेत सहयोग गरेका थिए ।