आन्दोलनकारीले ढुंगामुडा गर्दा प्रोग्रेशिभ फाइनान्स र कुमारी बैंकको कार्यालयमा क्षति (फोटोसहित)

काठमाडौं । राजावादीहरूको आन्दोलनकारीहरूले दुई वित्तीय कम्पनीको कार्यालयमा तोडफोड गरेका छन् । शुक्रबार भएको आन्दोलनमा उनीहरूले तीनकुनेमा रहेको प्रोग्रेशिभ फाइनान्स लिमिटेड र कुमारी बैंक लिमिटेडको कार्यालयमा तोडफोड गरेका हुन् ।
तीनकुनेको श्री राज भवनमा रहेको यी दुई कम्पनीको कार्यालयको अगाडीको सिसा फुटेको छ । प्रोग्रेशिभ फाइनान्सको मुख्य कार्यालय रहेको उक्त भवनमा आन्दाेलनकारीहरूले ढुंगामुडा गर्दा कार्यालयमा भौतिक क्षति भएको कम्पनीका सूचना अधिकारी प्रमोद भट्टराईले जानकारी दिए ।
‘हामी करिब ६० जना कर्मचारीहरू काम गरिरहेका थियौँ । एक्कासी हाम्रो कार्यालयमा तोडफोड हुन थाल्यो । ढुंगामुडा हुन थालेपछि हामीहरू भाग्यौँ । पछाडितिर भागेर ज्यान बचाउन सफल भयौँ’, उनले नेपाल प्रेससँग भने, ‘मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको छ ।’
पाँच वर्षदेखि उक्त भवनमा प्रोग्रेशिभ फाइनान्सको मुख्य कार्यालय सञ्चालनमा रहेको थियो । ढुंगामुडाका कारण कार्यालयमा भएको क्षतिको विवरण भने शनिवार निकाल्ने तयारी रहेको समेत उनले जानकारी दिए ।
अहिले उक्त कार्यालयमा चार जना सुरक्षाकर्मी खटाइएको छ । कार्यालयको अगाडीको भाग र भित्रका फर्निचर, कम्युटरहरुमा समेत क्षति भएको उनले जानकार दिए ।