प्रधानमन्त्री कप क्रिकेटः उपाधिका लागि आमनेसामने हुँदै आर्मी र पुलिस – Nepal Press

प्रधानमन्त्री कप क्रिकेटः उपाधिका लागि आमनेसामने हुँदै आर्मी र पुलिस

रुपन्देही । प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको शनिबार उपाधि भिडन्त हुँदैछ । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब उपाधि जित्न आमनेसामने हुँदैछन् । पुलिस साविक विजेता हो ।

भैरहवामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरी र आर्मीका कप्तान विनोद भण्डारीले आफूहरु उपाधि प्रतिस्पर्धाका लागि तयार रहेको बताए ।

सिद्धार्थ क्रिकेट मैदानमा यी दुई टीमबीच शनिबार उपाधिका लागि स्पर्धा हुनेछ । पत्रकार सम्मेलनमा भण्डारीले प्रधानमन्त्री कपले नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने जनाए ।

‘नियमित खेलाडीले भन्दा यस पटक नयाँ खेलाडीले राम्रो रन हानेका छन्’, उनले भने, ‘यो घरेलु प्रतियोगिताले खेलाडीलाई प्लेटफर्म दिएको छ । खेलाडी उत्पादनमा टेवा पुर्‍याएको छ ।’

काठमाडौं बाहिर सबै खेल हुँदा क्रिकेटमा नयाँ उत्साह ल्याएको बताउँदै उनले विगतको भन्दा यस पटक भैरहवाको मैदानको पिच राम्रो भएको जनाए ।

नियमित काठमाडौंमा खेल्दा र बाहिरका मैदानमा खेल्दा केही फरक परे पनि आर्मी प्रतिस्पर्धाका लागि तयारी रहेको उनको भनाइ छ ।

पुलिसका कप्तान ऐरीले क्रिकेट विकेन्द्रीकृत भएर विकास भएकोमा खुशी व्यक्त गरे । ‘जय ट्रफी भयो, पीएम कप यस पटक लुम्बिनी प्रदेशमा भयो’, उनले भने, ‘यस्ता धेरै खेलहरु बाहिर भएका छन् । क्रिकेटको विकास र विकेन्द्रीकृत भइरहेको छ ।’

उनले भोलि आफूले बनाएको रणनीति मैदानमा देखाउने जनाए ।

सन् २०१७ देखि सुरु भएको प्रधानमन्त्री कपमा अहिलेसम्म नेपाल पुलिस क्लबले दुई पटक उपाधि जितेको छ । आर्मीले एक पटकमात्रै उपाधि हात पारेको छ । गत वर्ष फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको थियो । आर्मी यस पटक त्यो बदला लिन चाहन्छ ।

यस पटक प्रधानमन्त्री कपमा खेलेका ९ खेलमध्ये यी दुबै टीमले ८८ खेल जितेका छन् । आर्मीले भने आफ्नो अन्तिम खेलमा बिहीबार पुलिसलाई हराएको थियो । फाइनल पुग्दा आर्मी रनरेटमा पहिलो बन्दा पुलिस दोस्रो बनेको छ । पहिलो पटक प्रधानमन्त्री कपका सबै खेल लुम्बिनी प्रदेशमा भयो ।

भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल भएको हो । कुल ४६ खेलमध्ये ४५ खेल सम्पन्न भएर अन्तिम उपाधि प्रतिस्पर्धा हुँदैछ । फागुन २५ सुरु भएको यस सिजनको प्रधानमन्त्री कपको शनिबार समापन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *