राजावादीको उपद्रव : नियोजित कि आकस्मिक ?
स्वागत नेपाल भन्छन्- सरकारले घरको छतबाट मञ्चमा अश्रुग्याँस हानेपछि माहोल बिग्रियो


काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि सुरु भएको संयुक्त जनआन्दोलन पहिलो दिनमै अशान्तिपूर्ण बनेको छ । आन्दोलनकारीहरु विभिन्न स्थानमा तोडफोड र आगजनी गर्दै हिँडेका छन् ।
राजावादी आन्दोलनको नेतृत्व पञ्चायतकालीन नेता नवराज सुवेदीले गरेका थिए । ८७ वर्ष टेक्न लागेका वयोवृद्धले अगुवाइ गरेको आन्दोलन यस्तो अराजक हुने अनुमान थिएन । उनले आन्दोलन शान्तिपूर्ण हुने बताइरहेका थिए, तर आजको आन्दोलन उनको नियन्त्रणमा देखिएन ।
सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले हिजोमात्रै विवादास्पद छविका व्यवसायी दुर्गा प्रसाईंलाई आन्दोलनको जनकमान्डर घोषणा गरेको थियो । प्रसाईंले हिजै निर्मल निवासमा पुगेर पूर्वराजासँग लामो छलफलसमेत गरेका थिए । सरकारी पक्षले पूर्वराजाकै इशारामा प्रसाईंले आन्दोलन हिंसात्मक बनाएको दाबी गरेको छ । आज भएका घटनामा पूर्वराजालाई नै जिम्मेवार ठहर्याउने सरकारको तयारी छ ।
आजका गतिविधिहरु हेर्दा पूर्वनियोजित रुपमै गरिएका हुन् कि भन्ने आशंका पैदा हुन्छ । आन्दोलनकारीहरु ठाउँठाउँमा आगजनी गर्दै हिँडेका छन् । कर्फ्र्यु नै लगाउनुपर्ने अवस्था आएको छ ।
आन्दोलन सुरुमा सामान्य थियो । तीनकुनेमा प्रदर्शनकारी र प्रहरीहरु धकेलाधकेल गरिरहेका थिए । प्रहरीको पहिलो घेरा आन्दोलनकारीले तोडेको खण्डमा बल प्रयोग गर्ने माथिको आदेश थियो । त्यसैबमोजिम प्रहरीले सुरुमा लाठी चार्ज र अश्रुग्याँस प्रहार ग¥यो ।
यही क्रममा प्रहरीले विरोध सभाका लागि बनाइएको मञ्चमा नै ताकेर अश्रुग्याँस हानेपछि परिस्थिति बिग्रिएको घटनास्थलमा रहेका एक राप्रपा नेता बताउँछन् ।
दुर्गा प्रसाईले केही दिनयता आन्दोलनलाई अराजक र हिंसात्मक बनाउने प्रयास गरिरहेको आशंका राप्रपा नेताहरुलाई पनि थियो । त्यसैले राप्रपाको संस्थापन पक्ष दुर्गा प्रसाईसँग सशंकित भएर आन्दोलनमा जान मानेको थिएन ।
पूर्व राजाकै इच्छा अनुसार दुर्गा प्रसाईलाई जनकमाण्डर बनाइएपछि केही न केही हुने आशंका थियो । प्रसाईले आन्दोलनमा दमन निम्त्याउने र नेता तथा पार्टी कार्यालयहरुमा घुस्ने भनेको भिडिओ नै प्रहरीले फेला पार्दा पनि किन पर्याप्त तयारी भएन ? यो प्रश्न पनि उठेको छ ।
प्रसाईकै उक्साहटमा ठाउँ ठाउँमा घुसेर आगजनी गर्ने,तोडफोड र लुटपाट गर्ने काम भएको गृह मन्त्रालयका प्रवक्ता छबि रिजालले बताएका छन् । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र,महामन्त्री धवल शमसेर जबरालगायतका नेताहरु नै फिल्डमा खटिएका कारण राप्रपाले शुक्रवारको आन्दोलनको अराजकता र मानवीय तथा भौतिक क्षतिप्रति नैतिक जिम्मेवारी लिने कि नलिने ? यो प्रश्नमा अहिले संस्थापन पक्षका नेताहरु खुलेर बोल्न सकेका छैनन् ।
उनको वर्णन यस्तो छ
यो आन्दोलन शान्तिपूर्ण नै हुन्छ भन्ने थियो । राप्रपाले पनि शान्तिपूर्ण आन्दोलनलाई समर्थन जनाएको हो । हामी त्यही हिसाबले आन्दोलनप्रति ऐक्यबद्धता जनाउन पुगेका थियौं । म पुगेको ५–७ मिनेटमा नवराज सुवेदी, धवलशमशेर, रवीन्द्र मिश्रजीहरु आउनुभो । उहाँहरु मञ्चमा जानुभयो, हामी अलि वर थियौं । उहाँहरु मञ्चमा उक्लिएको एक मिनेटभित्रै कतै टाढाबाट मञ्चमा अश्रुग्याँस फ्याकियो । पछि थाहा भयो कि नजिकैको घरको छतबाट फ्याकिएको रहेछ ।
अश्रुग्याँस हानिएपछि मञ्चमा कोलाहलको स्थिति भयो । वयोवृद्ध नेता नवराज सुवेदी छट्पटाउन थालेपछि कार्यकर्ताहरुले उहाँलाई त्यहाँबाट निकालेर सुरक्षित स्थानमा लगे । नेताहरु मञ्चबाट भागे भनेर हल्ला चल्यो, तर खासमा भागेको नभएर अश्रुग्याँसले गर्दा तितरबितरमात्र भएका थिए । रवीन्द्र मिश्र स्टेजमै थिए ।
यो अश्रुग्याँस प्रहारपछि भिड उत्तेजित भयो । मञ्चबाट धवलजीले प्रहरीलाई दमन नगर्न अपिल गर्नुभयो । दुर्गा प्रसाईंले चाहिँ ‘हामी दमनबाट डराउँदैनौं, साथीहरु अगाडि बढ्नुस्’ भन्दै उक्साउन थाल्नुभयो । एकछिनपछि उहाँ आफैं गाडी लिएर निस्किनुभएछ ।
खासमा प्रहरीले अश्रुग्याँस फ्याकेपछि भिड उत्तेजित बन्यो । त्यसपछि जुन घरबाट अश्रुग्याँस फ्याकिएको थियो, त्यसमा आन्दोलनकारीले ढुंगा हान्न थाले । घरभित्रै घुसेर तोडफोड र आगजनी सुरु भयो । आक्रोशित भिडलाई कसैले गरेर सम्झाउने बुझाउने स्थिति नै भएन । यो भिडमा विशुद्ध राजावादी कार्यकर्ता थिए कि घुसपैठ भएका व्यक्तिहरु थिए म भन्न सक्दिनँ । मलाई चैं घुसपैठ नै भएको गम्भीर आशंका छ ।
प्रहरीले अश्रुग्याँस हानेको हान्यै थियो । पटकपटक मञ्चमै ताकेर हानिएको थियो । अश्रुग्याँस पनि २००८ मा एक्सपायर्ड भएको रहेछ । यस्तो पिरो थियो कि सासै फेर्न गाह्रो हुने ! मञ्चमै आक्रमण भएको देख्दा सरकारले कुनै पनि हालतमा सभा विथोल्न प्रहरीलाई निर्देशन दिएको प्रतित हुन्छ ।
पछाडि भएका घटनाक्रमहरु सबै आकस्मिक हुन् । मलाई लाग्दैन कि नियोजित रुपमा यस्तो भइरहेको छ । प्रहरीले सुरुमै दमन गर्न नखोजेको भए सायद यो अवस्था आउने थिएन । आन्दोलनकारीको तर्फबाट पनि कमजोरी भएकै हो । किनकि यसलाई दरिलो कमान्ड गर्न सकिएन ।
हिंसात्मक आन्दोलन गर्ने नीति बिल्कुल थिएन । नवराज सुवेदी, रवीन्द्र मिश्र, धवलशमशेरहरुले यस्तो खालको आन्दोलनमा विश्वास गर्नुहुन्छ जस्तो लाग्दैन । दुर्गा प्रसाईंले व्यक्तिगत रुपमा कुनै तयारी गर्नुभएको थियो भने म जान्दिनँ, तर संयुक्त जनआन्दोलनमा चाहिँ शान्तिपूर्ण आन्दोलन नै गर्ने भनेर छलफल गरिएको हो ।
यो विषयमा हामीले संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालसँग पनि कुरा गर्यौं । सरकारकै कारणले आन्दोलन हिंसात्मक बन्न पुगेको उनको दाबी छ ।
नेपालले भने, ‘हामीले शान्तिपूर्ण आन्दोलन गर्ने नै भनेका हौं, तर आकस्मिक रुपमा हिंसा भड्कियो । हिजोदेखि नै हामीलाई रिंगरोड छुन नदिने भनेर सरकारले दमनको संकेत देखाएको थियो । आज हाम्रो सभा सुरु नै नभइकन प्रहरीले मञ्चमा आक्रमण गर्यो । त्यसपछि हाम्रो कार्यकर्ताले प्रतिकार गरेका हुन् ।’
आज भएको सबै क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने र पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ ।
राजावादी आन्दोलन अब कुन दिशामा जान्छ भन्ने प्रश्नमा उनले बैठक बसेर थप रणनीति बनाउने बताए ।
उनले भने, ‘हामीले शान्तिपूर्ण आन्दोलन गर्ने भनेका हौं, तर सरकारले दमनको नीति लियो । अब कता मोडिन्छ भन्न सकिँदैन । आजै बैठक बसेर छलफल गर्नेछौं ।’
यसअघि जनआन्दोलन समितिले भोलि शनिबार घोडेजात्रा भएकाले आन्दोलन नगर्ने पूर्वघोषणा गरेको थियो, तर आज परिस्थिति बदलिएकाले भोलिको विषयमा छलफलबाट निर्णय लिने उनको भनाइ छ ।